महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यीकरण गरिरहेको छ । नगरपालिकाले सुन्दरताका लागि बजार क्षेत्रमा रहेका खाली भित्तामा विभिन्न चित्रहरु बनाइरहेको छ ।
नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुरसँगको सहकार्यमा नगरपालिकाले कला सँस्कृति झल्किने विभिन्न चित्र बनाइरहेको हो । पहिलो चरणमा भीमदत्त-४ स्थित दशरथचन्द चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न कला सँस्कृति झल्किने र विभिन्न पर्यटकीय क्षेत्रका चित्र बनाइरहेको नगरप्रमुख पदम बोगटीले बताए ।
‘सुन्दरताका लागि सार्वजनिक क्षेत्रका भित्तामा यस क्षेत्रका कला सँस्कृति झल्किने र पर्यटकीय क्षेत्रका चित्र बनाउने कार्य सुरु भएको छ,’ उनले भने, ‘पहिलो चरणमा शहिद दशरथचन्द चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्मका भित्तामा चित्र निर्माण भइरहेको छ ।’
यस्तै, नगरपालिकाले पुरानो जिल्ला प्रशासन कार्यालय अगाडि रहेका खोका छाप्रा समेत हटाएको छ । शहिद दशरथचन्द चोकदेखि डिभिजन वन कार्यालयसम्म सडक किनारमा रहेका खोका छाप्रा हटाएर उक्त क्षेत्रलाई सुन्दर र व्यवस्थित गर्ने कार्य समेत भइरहेको नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।