अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्वअध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले अझै पनि भेटाउन सकेको छैन । कैलाली प्रहरीले उनीहरु दुबै जनाको खोजी भइरहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले अध्यक्ष बोहरा र पूर्वअध्यक्ष देवकोटालाई आफूहरुले खोजिरहेको बताए । ‘दुबै जना अझै भेटिएका छैनन्, हामीले खोजतलास गरिरहेका छौँ’, उनले भने ।

प्रवक्ता चन्दले यसअघि फागुन ८ गते मुद्दा अनुसन्धानको अन्तिम चरणमा रहेको बताएका थिए । उनले आफूहरुका तिरबाट अनुसन्धान अन्तिम चरणमा पुगेको भएपनि दुई जना नसमातिँदासम्म थप केही गर्न नसकिने बताए । उनले भने, ‘हाम्रो तिरबाट अनुसन्धानको अन्तिम चरणमा हौँ, तर दुई जना नपाएसम्म कसरी हुन्छ, मुद्दा चालु नै छ ।’

प्रवक्ता चन्दले जाँचका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको टिकेटको रिपोर्ट कहिले आउँछ भनेर पनि भन्न नसकिने बताए । ‘विधि विज्ञान प्रयोगशालामा कहिले रिपोर्ट तयार भइसक्छ भनेर हामीले अनुमान लगाएर भन्न सक्दैनौँ, कहिले आउँछ भन्ने थाहा छैन, प्रयोगशालाले थन्क्याएर राख्दैन, तयार भएपछि पठाउला’, उनले भने ।
अत्तरियामा गत पुष २६ गतेदेखि माघ ७ गतेसम्म सञ्चालित आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएका थिए । अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको थियो । यो प्रकरणमा नाम जोडिएपछि अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बोहरा र पूर्वअध्यक्ष देवकोटा सम्पर्कविहीन रहेका हुन् ।
भिडियाे