अत्तरिया – दलित महिला सशक्तीकरण गर्न सके समाजको न्यायोचित विकास हुनेमा जोड दिइएको छ । शनिवार अत्तरियामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले भौतिक विकास सँगै दलित महिलाको सशक्तीकरण आवश्यक रहेको बताएका हुन । दलित महिला अधिकारकर्मी सुमित्रा शोपले दलित महिला आर्थिक, सामाजिक, राजनीतिक रूपमा अझै पछि परेकाले यस्ता महिलाहरूलाई सशक्तीकरण गर्न आवश्यक रहेको बताइन् ।

‘अहिले भौतिक पूर्वाधार निर्माण भएका होलान् । तर, यहाँ बस्ने महिलाहरूको अवस्था के छ भन्ने बुझ्न आवश्यक छ’ गोदावरी नगरपालिका –२ मा शनिवार देखि सुरु भएको दलित महिला सशक्तीकरण तालिमको उद्घाटन सत्रमा बोल्दै उनले भनिन् ‘प्रत्येक महिला सशक्तीकरण हुन आवश्यक छ । महिला घरेलु हिंसा रहित हुनको लागि सशक्तीकरणका कार्यक्रम गरिनुपर्छ ।’

उनले २१ औँ सताप्दीमा पनि महिलाले अझै पूर्ण अधिकार पाउन नसकेको बताउँदै जातीय विभेद पनि सहन नहुने बताइन् । ‘विभेद अन्त्य गर्नको लागि एक जनाले मात्रै बुझेर हुँदैन । विभेद हटाउन सबैले पहल गर्नुपर्छ’ उनले भनिन् ‘यसका लागि समाजमा अगुवा, समाजसेवी, राजनीति गर्ने सबैले लाग्न आवश्यक छ ।’ उनले गोदावरीमा अझै पनि महिला सशक्तीकरणका कार्यक्रम गर्न कन्ज्युस्याई गर्ने गरिएको बताउँदै यसमा नगरपालिका उदार हुनुपर्ने बताइन् ।


दलित अगुवा बाजी विकले भने दलित महिला सशक्तीकरणका कार्यक्रममा पनि टाठा बाठाकै हालीमुहाली भएको बताए । उनले सशक्तीकरणका कार्यक्रम होटेलमा नभई गाउँमा गर्नुपर्ने बताए । ‘तालिमको मोडल नै फरक बनाउनु पर्छ । यस्ता तालिममा गाउँका सर्वसाधारणहरूलाई समेट्नु पर्छ’ उनले भने ‘दलितको विषयमा आवाज उठाउन सरकारको मुख मात्रै नताकेर दलितका नाममा खुलेका सङ्घ संस्थाहरूले पनि पहल थाल्नु पर्छ ।’ उनले सबै मिलेर अगाडि बढे दलित माथि हुने विभेद अन्त्य हुने बताए ।
गोदावरीको महिला तथा बालबालिका शाखाकी प्रमुख गोदावरी खत्रीले अझै पनि महिला, बालबालिका माथिको विभेद, हिंसा कायमै रहेकोले यसलाई निराकरण गर्न घरघरबाट नै प्रतिकार गरिनुपर्ने बताइन् । उनले समाजमा रहेका विकृति, विसङ्गति हटाउन सबै महिला एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन् ।
शनिवार देखि वडा नम्बर २ को सहयोगमा र दीपज्योती दलित महिला समूह, चेतनशील दलित महिला बाख्रा पालन समूह र झरना दलित महिला समूहको सयुक्त आयोजनामा दलित महिला सशक्तीकरण तालिम आयोजना गरिएको हो । फागुन २९ गते सम्म सञ्चालन हुने तालिममा दलित महिला सशक्तीकरण सँगै महिलाहरूलाई सीप सँग जोडिने आयोजकले जनाएका छन ।
वडा नम्बर २ का वडा सदस्य डबल बहादुर साउँदले तालिमले महिलालाई सशक्तीकरण गराउन सहयोग पुग्ने बताए । उनले समाजमा सबै किसिमका मानिस बसेकाले सबैले सम्मानजनक तरिकाले बाच्न पाउनुपर्ने बताए । ‘समाजमा सबै सम्मानजनक तरिकाले बसेका भए सशक्तीकरणको कुरा नै आउँदैन’ उनले भने ‘तर, हामी यस्तो समाजमा छौ । जहाँ विभेद छ । सबै जातीमा विभेद छ ।’ उनले दलित महिला सशक्तीकरणका लागि चालु आर्थिक वर्षमा वडाबाट २ लाख बजेट विनियोजन गरिएको बताए ।