बैतडी–बैतडीमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ ।


जिल्लाको सिगास गाउँपालिका ५ साउनसल्याडीका अन्दाजी ५४ बर्षीय प्रेमसिंह धामीको ढुंगा लागेर मृत्यु भएको हो । गाउँमा निर्माण भइरहेको साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर धामी गम्भीर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।

उनलाई उपचारका लागि लैजाँदै गर्दा मौरीबगड भन्ने ठाउँमा मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए । बिहीबार साँझ घटना भएको र बिहीबार राति नै धामीको मृत्यु भएको बताइएको छ ।
