कैलाली- कैलालीको बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको छ । धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित सो मन्दिरमा आज महाशिवरात्रिका दिन हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको हो ।


बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा पुष्पवर्षा गराइएको थियो । महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले बताए ।

उनले जिल्लाको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न पुष्पवर्षा गराइएको बताए । आज अपराह्न ४ बजे सवा दुई करोड दीप प्रज्वलन पनि गरिने जोशीले बताए ।

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्पवर्षा समारोह उपसमितिको आयोजनामा हेलिकप्टरबाट पुष्पवर्षा गरिएको हो । पुष्पवर्षाका लागि नरेन्द्र शाहको संयोजकत्वको टोलीले १४ लाख ९ हजार ९५० रकम सङ्कलन गरेको थियो । हेलिकोप्टर भाडाबापत ११ लाख र तीन क्वीन्टलटल फूलका लागि दुई लाखसहित जम्मा १३ लाख खर्च हुने अनुमान गरिएको छ ।