कैलाली – चोरीको मोटरसाइकल सहित समातिएका दुई जनालाई प्रहरीले मिलापत्रमा छोडेको छ । माघ ३ गते बुधबार राती कैलालीको घोडाघोडी नगरपालिका–७, हरिनगरका थानेश्वर चौधरीको से ७ प ६४४ नम्बरको मोटरसाइकल घरबाट चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि खोजीकार्यका लागि भन्दै अस्थाई प्रहरी पोष्ट हरिनगरमा चौधरीले दिएको निवेदनका आधारमा प्रहरीले शुक्रबार मोटरसाइकल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।

मोटरसाइकल सहित पक्राउ परेका दुबै जना विरुद्ध पीडित चौधरीले उजुरी दर्ता गराउन खोज्दा पनि प्रहरीले उजुरी दर्ता गर्न मानेन । चोरीको मोटरसाइकल चलाउदैमा कोहि कसैलाई चोर हो भन्न नमिल्ने भन्दै, इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र वीर विश्वकर्माले उल्टै पीडितलाई थर्काएका थिए ।

मोटरसाइकल सहित पक्राउ परेका दुई जना विरुद्ध पाँच दिन सम्म पनि उजुरी दर्ता गर्न प्रहरीले नमाने पछि अन्ततः नगद एक लाख ९० हजार क्षतिपुर्ती दिने र मोटरसाइकल चोरहरुले नै लिने गरी प्रहरीले दुई पक्षलाई सहमतीमा ल्याउदैं कागज गराएको पीडित चौधरीले बताएका छन् । चोरीको मोटरसाइकल सहित पक्राउ परेका दुई जनाले उक्त बरामद मोटरसाइकल एक हप्ता पहिले देखि प्रयोग गरिरहेको विभिन्न ठाउमा जडान गरिएका सिसिटिभि फुटेजहरुबाट पनि देखिन्छ ।


मोटरसाइकलको वास्तविक स्वरुप र नम्बर परिवर्तन गरेर चोरहरुले से ७ प ६०४५ नम्बरमा चाइरहेको अवस्थामा पहिलो पटक फागुन ३ गते बिहिवार घोडाघोडीको एक अस्पताल नजिकै सिसिटिभि क्यामेराको फुटेजमा तिन जना देखिएका थिए । तिनैका मध्यका दुई जनालाई प्रहरीले शुक्रबार पेट्रोल पम्पमा इन्धन हाल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । तर, प्रहरीले घटाना मिलाउन पीडितले उजुरी दिएको पाँच दिन सम्म पनि दर्ता नगरेको हो ।
चैत्र २ गते भित्र चोरहरुले पीडितलाई एक लाख ९० हजार नगद रुपैयाँ दिने र मोटरसाइकल चोर पक्षले नै लिने गरी घोडाघोडी नगरपालिका वडा ५ का वडा अध्यक्ष लोक बहादुर चन्दको रोहवरमा पीडित पक्ष र चोरहरुका आफन्त बीचमा प्रहरीले कागजी सहमती गराएर चोरलाई छोडेको पीडित चौधरीको गुनासो छ ।
यता, चोर छाडेको विषमा इलाका प्रहरी कार्यालयमा कुनै सहमतीको कागज नभएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक विरेन्द्र वीर विश्वकर्माको भनाई छ । उनी भन्छन् ‘अरु संग मागेर केटाहरुले मोटरसाइकल चलाएको सहि हो । तर, चोरीको मोटरसाइकल चलाउदैमा कसैलाइ चोर होस् भनेर उजुरी दर्ता गर्न खोजेपछि आफुले नै दर्ता गर्न नमानेको हु ।’ चोरीको मोटसाइकल सहित पक्राउ पर्नु र हप्तादिन देखि उनीहरुले किन मागेको मोटरसाइकल चलाएका होलान ? भन्ने प्रश्नमा प्रहरी नायव उपरीक्षक विश्वकर्माले भने ‘चोरहरु साथी भएकाले घरमै लिएर राखेपछि दुई जनाले रहर गरेर चलाएको भन्ने छ ।’
त्यस्तै, एक पटक सुधिने मौका दिनु पर्यो भने पछि आफ्नो रोहवरमा इलाका प्रहरी कार्यालयले प्रकाउ परेका केही जनालाई छोडेको घोडाघोडी नगरपालिका ५ का वडा अध्यक्ष लोकबहादुर चन्दले बताएका छन । उनले भने, ‘उनीहरु छुटेको कुरा सत्य हो । प्रहरीको हातमा कागज छ, पीडित चौधरी आफ्नै वडाको भएकाले उसको सजिलोको लागि आफू साक्षी बसेको हु । चैत्र २ गते भित्र नगद रुपैयाँ दिने र सो चोरी भएको मोटरसाइकल उनीहरुले नै लिने सहमती प्रहरीको सामु भएको छ ।’