महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मदन चोकस्थित २२ सटर खालि गरिएको छ । मदन चोकसँगै टासिएका २२ सटर एसियाली विकास बैंक (एडिबी)को सहयोगमा भइरहेको सडक निर्माणमा बाधक देखिएपछि नगरपालिकाले खालि गराएको हो ।

२०७८ सालदेखी सटर भत्काउन प्रयास एवम् पत्राचार गरिएपनि भत्काउन सकिएको थिएन । नगरप्रमुख पदम बोगटीले ती सटरमा व्यवसाय गरिरहेका व्यक्तिहरुसँग समन्वय, छलफल, आग्रह र उनीहरुको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि अहिले व्यापारीहरुले सटर खाली गरेका छन् ।


‘२०७८ सालदेखि नै २२ सटर लगायतका संरचाना भत्काउन प्रयास, पत्राचार भएपनि भत्काउन सकिएको थिएन’, नगरप्रवक्ता पदमराज अवस्थीले भने, ‘हामी निर्वाचित भएर आइसकेपछि नगरप्रमुख पदम बोगटीज्यूले ती सटरमा व्यवसाय गरिरहेका व्यक्तिहरुसँग पटक–पटक छलफल, आग्रह र उहाँहरुको उचित व्यवस्थापन गर्ने गरी सहमति भएपछि अहिले व्यापारीहरुले आफै सटर खाली गरिरहनु भएको छ ।’

नगरपालिकाले पुरानो जिल्ला प्रशासन कार्यालय अगाडि रहेका खोका छाप्रा समेत हटाएको छ । पालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यीकरण गर्ने भन्दै त्यहाँ रहेका खोका छाप्रा हटाएको हो । सहिद दशरथचन्द चोकदेखि डिभिजन वन कार्यालयसम्म सडक किनारमा रहेका खोका छाप्रा हटाएर उक्त क्षेत्रलाई सुन्दर र व्यवस्थित गर्ने कार्य भइरहेको नगर प्रवक्ता अवस्थीले बताए ।
बजार क्षेत्रका विभिन्न चोकहरु, जिल्ला प्रशासन कार्यालयदेखि सहिद दशरथचन्द चोकसम्मको सडक किनार सौन्दर्यीकरण, विभिन्न ठाउँमा विश्रामस्थल निर्माण, ५ ओटै गल्लिका पछाडि पार्किङ लगायतका संरचना निर्माण गरिएका छन् । बजार क्षेत्रका सार्वजनिक शौचालय मर्मत एवम् व्यवस्थित गर्न र एडिविको दोस्रो चरण ल्याउन समेत पहल भएको नगरप्रवक्ता अवस्थीले बताए । साथै बजार क्षेत्रका अन्य अवैध संरचना र अतिक्रमण गरिएका जग्गा खालि गर्ने तयारीमा नगरपालिका रहेको उनले बताए ।