झलारी – कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का राजकुमार रानाको हत्या आरोपमा पक्राउ परेका २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । २८ वर्षीय रानाको मृत्यु भएको ५ महिनापछि पक्राउ परेका कृष्णपुर नगरपालिका– ६ का महेश चौधरी र चेतराज भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।


बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनीहरूलाई कारागार चलान गर्न आदेश दिइएको थियो । अदालतको आदेश अनुसार आरोपी दुवै जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।

कारागार चलान हुने चौधरी नेपाल प्रहरीका सहायक हवल्दार हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । घटना भएको पाँच महिनापछि मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
