अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा ५१ करोड बढी लागतको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंक (एडिबी) को ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्पलेक्स सँग सम्झौता गरेर धमाधम निर्माणको काम भइरहेको हो ।

१८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रको करिब ८० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ । सम्झौता अनुसार अझै निर्माण अवधि ७ महिना बाँकी रहेको छ । ५ हेक्टर क्षेत्रफलमा फैलिएको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गोदावरी नगरपालिकाकाले जग्गा उपलब्ध गराएको थियो । गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले फोहोरमैला व्यवस्थापनको लागि ठूलो परियोजना कार्यान्वय ल्याउन आफूहरु सफल भएको बताए । ‘फोहोरमैला व्यवस्थापन केन्द्र एडीबीबाट गोदावरी नगरपालिका पाउन सफल भएको थियो । यो कार्यक्रम सुदूरपश्चिमका ४ पालिकाका लागि आएपनि अन्य पालिकाले यसलाई कार्यान्वयन गर्न सकेका छैनन्’ उनले भने ‘हामीले यसलाई कार्यान्वयन ल्याउनको लागि निकै मिहेनत गरेका छौ । यो एडिबीबाट गोदावरी नगरपालिकाले पाएको ठूलो परियोजना हो ।’

उनले परियोजनाको काम तिब्र गतिमा अगाडि बढेको बताउँदै यसबाट कम्पोष्ट मल उत्पादन गरी गोदावरीमा फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताए ।
उनले फाहोरमैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ठूलो क्षेत्र आवश्यक पर्ने भएकाले जग्गाको व्यवस्थापन गर्न निकै चुनौती भएपनि आफूहरु त्यसमा सफल भएको बताए । उनले भने ‘यसको निर्माण सुरुवात गर्दा निकै चुनौती थियो । हामीले एडिवी सँग काम गर्नुपर्ने थियो । एडिबिको पहिलो सर्त वनको जग्गा क्लियर गरेर दिनुपर्ने थियो । हामीले शनिबारको दिन पनि काम गरेर रुख कटाउने आदेश पाएर यो काम गर्न सफल भएका हौ ।’
निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डेले फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोरमैला सँगै दिसाजन्य लेदोको छुट्टाछुटै व्यवस्थापन हुने बताए । उनले ठोस फोहोरलाई कुहिने, रिसाइकल हुने र कामै नलाग्ने फोहोरमा विभाजन गरेर व्यवस्थापन गरिने बताए । उनले दिसाजन्य फोहोरको व्यवस्थापन गर्नका लागि ५ घनमिटर र ८ घनमिटरका छुट्टै सेड निर्माण गरिएको बताए ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोर प्रतिदिन १३ टन र दिसाजन्य फोहोर प्रतिदिन १३ घनमिटर व्यवस्थापन गर्न सकिने जनाइएको छ । ठोस र दिसाजन्य फोहोर ट्याङ्करमा लोड गरेर ल्याइने केन्द्र सम्म पु¥याइने जनाइएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण पछि ३ वर्ष निर्माण कम्पनीले नै सञ्चालन गरेर गोदावरी नगरपालिकालाई हस्तान्तर गर्नेगरी सम्झौता गरिएको छ ।
गोदावरी नगरपालिका – ३ मा रहेको चौकिडाँडा सामुदायिक वन क्षेत्रमा निर्माणा भइरहेको फोहरमैला व्यस्थापन केन्द्र निर्माणका लागि सो क्षेत्रमा १ हजार बढी रुख काटिएका थिए । परियोजनालाई ५० बर्ष सम्म प्रयोग गर्न मिल्ने गरि डिजाईन गरिएको छ । यसको निर्माणका लागि ७५ प्रतिशत एडिबीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारको सहयोग रहेको छ ।