अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा हिंसा प्रभावित महिला तथा बालबालिकालाई सेवा दिन निर्माण गर्न लागिएको सेवा नक्सांकन तथा एकीकृत सेवा सूची (श्रोत नक्सा) लाई अन्तिम रुप दिन छलफल गरिएको छ । बुधबार गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाको प्रमुख आतिथ्यतामा सेवा नक्सांकन तथा एकीकृत सेवा सूचीलाई अन्तिम रुप दिन छलफल गरिएको हो ।

निड्स नेपालको सुदूरपश्चिम बालविवाह निवारण परियोजना अन्तरगत निर्माण गर्न लागिएको सेवा नक्सांकन तथा एकीकृत सेवा सूचीमा हिंसा प्रभावित महिला तथा बालबालिकालाई सेवा दिने संघसस्थाको विवरण सहितको एकिकृत सूचि तयार पारिने जनाईएको छ ।
जसका लागि यसअघि फागुन ८ गते गोदावरी नगरपालिका भित्र हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु सँग अन्तरक्रिया गरेर ति संघसस्थाहरुले गर्ने कामका बारेमा सूचि तयार पारिएको थियो ।

बुधबार उक्त सूचिलाई अन्तिम रुप दिन नगरका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखाका कर्मचारी सहित विभिन्न सेवाप्रदायक संस्थाहरुको सहभागितामा छलफल गरिएको परियोजनाका सुदूरपश्चिम संयोजक टेक विकले बताए ।

उनले सेवा नक्सांकन तथा एकीकृत सेवा सूचीमा सेवा प्रदायकले हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा दिने सेवा, सेवा प्रदान गर्न सकिने अवधि, सेवा क्षमता र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर संकलन गरिएको छ । जसअन्तरगत गोदावरीमा एक दर्जन बढी संघसस्थाको सेवा नक्सांकन तथा एकीकृत सेवा सूची तयार पारिएको छ ।
उक्त सेवा नक्सांकन तथा एकीकृत सेवा सूचीलाई ठाउँठाउँमा होर्डिङ बोर्ड बनाएर टासिने परियोजनाकी सामाजिक परिचालक लक्ष्मी कुमारी लुहारले बताएकी छिन ।
कार्यक्रममा बोल्दै उपप्रमुख शारदा रोकायाले एकीकृत सेवा सूची बनाउँदा हिंसा प्रभावित महिला तथा बालबालिका क्षेत्रमा काम गर्न सहज हुने बताइन् । उनले नगरपालिकामा बिभिन्न संघसस्थाहरुले महिला तथा बालबालिकाका क्षेत्रमा धेरै राम्रो काम गरिरहेको बताइन् । कार्यक्रमका बोल्दै नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले गोदावरी नगरपालिकाले संघसस्थाहरु सँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।