बाजुरा – खाद्यान्न आपुर्ति बढाउने विषयमा बाजुरामा सर्वपक्षिय बैठक बसेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा जिल्लाको खाद्यान्न समस्याको समाधानका लागि सरोकारवालाहरुको सर्वपक्षिय बैठक बसेको हो ।

बैठकले खाद्यान्नको थप आपूर्ति बढाउने र वितरणलाई समेत व्यवस्थित बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनले बैठकबाट जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको समेत बताए ।

हाल जिल्लामा ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानियले बजारको चामल महंगोमा किन्नुपर्ने बाध्यता रहेको छ । संस्थानले केही रुपैयाँ सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यान्नकै चामल रोज्ने गरेका छन् । बजारमा मोटा चामल रु. ६२ देखि ६४ मा बिक्री हुँदा खाद्य संस्थानमा रु. ५९ मा प्रतिकेजी पाइने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराले जनाएको छ ।

जिल्लामा गत साउनदेखि हालसम्म दुई हजार क्विन्टलमात्रै चामल आयात गरिएको छ । अघिल्लो वर्षको कोटा हेर्दा १० हजार बढी क्विन्टल चामल आवश्यक हुने अनुमान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
बैठकमा सहभागीहरुले बाजुरामा भोमकरी नै हुने गरी खाद्यान्न अभाव हुने अवस्था नआएको बताएका छन । उनिहरुले जबर्जस्त अभाव सिर्जना गरिने काम बन्द गरिनुपर्ने बताएका छन ।
बैठकले विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गर्ने निर्णय गरेको छ । सरकारी कर्मचारी, व्यापारी र गैरसरकारी संस्थासँग आबद्ध रोजगारी भएको घरको तथ्याङ्क सङ्कलन गरी अनुदानको चामल विपन्न परिवारका प्राथमिकतामा राखेर वितरण गर्ने निर्णय गरिएको बताईएको छ ।