काठमाण्डौं – गाजामा झन्डै ५ महिनादेखि जारी युद्धमा सङ्घर्ष विरामका लागि पुनः वार्ताको प्रयास सुरु भएको छ । पछिल्लो समय फ्रान्सको पेरिसमा जारी वार्तामा इजरायल गाजामा सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमत भएको बताइएको छ ।

सङ्घर्ष विराम र बन्धकको रिहाईको विषयमा पेरिसमा वार्ता भइरहेको र इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको छ । वार्तामा इजरायल पहिलो चरणमा सहमत भएको बताइएको छ । सामाजिक सञ्जाल एक्समा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक बनाइएका आफ्ना नागरिकको रिहाइका लागि एक टोली पेरिस पठाइएको र अर्को चरणको कुराकानी सुरु हुने बताए ।

आइतवार मात्रै अमेरिकाको व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले बन्धक रिहाई र अस्थायी सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमति बनेको बताएका छन् । आइतवार कतारमा पनि सङ्घर्ष विरामको विषयमा वार्ता सुरु भएको बताइएको छ । गाजामा वार्ताको पहल र इजरायलको पहिलो चरणमा सहमतिले हमासको कब्जामा रहेका नेपाली युवा वीपिन जोशीको रिहाइ हुन सक्ने आशा फेरि जगाएको छ ।

गत अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दै जोशीलाई पनि बन्धक बनाएको इजरायली सरकारको दावी छ । तर, हालसम्मको उनको अवस्था अज्ञात नै छ । यसअघि पहिलो चरणमा नोभेम्बरमा ७ दिनका लागि अस्थायी युद्ध विराम गरिएको थियो । पहिलो चरणमा इजरायलका ११० जना महिला तथा बालबालिका रिहा भएका थिए ।
त्यो समय महिला र बालबालिका मात्रै रिहा गर्ने र गराउने सहमति भएकाले एकजना पनि पुरुष मान्छे रिहा भएका थिएनन् ।
युद्ध विराम सकिए लगतै इजरायलले हमासको विभिन्न केन्द्र, अस्पताल र अन्य स्थानमा आक्रमणलाई तीव्र बनाउँदै गएको छ । इजरायलले गाजामाथि गरेको तीव्र आक्रमणमा हालसम्म २७ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ । सर्वसाधारणलाई क्षति नपुर्याउन इजरायललाई विश्व समुदायको दबाब दिएपनि कुनै प्रभाव परेको छैन ।
