अत्तरिया – कैलालीको अत्तरियामा रहेको बौद्ध गुम्बामा विश्वशान्ति महायज्ञपुजाको शुभारम्भ गरिएको छ । अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बा अत्तरियाको आयोजनामा बुद्ध वचन त्रिपिटक वुम १६ ठेली ग्रन्थपाठ चौथो विश्वशान्ति महायज्ञपुजाको शुभारम्भ गरिएको हो ।
महायज्ञपुजाको बिहीबार एक कार्यक्रमका बीच सुदूरपश्चिम सरकारी पूर्व राज्यमन्त्री चुन कुमारी चौधरीले उद्घाटन गरेकी थिइन । उद्घाटन कार्यक्रममा बोल्दै उनले रीतिरिवाज परम्परा जोगाउन गरिने सबै धर्मका कार्यक्रमको सम्मान गरिनुपर्ने बताइन् । उनले सबै धर्मको संरक्षण गर्न सके नेपाल समृद्ध बने बताइन ।

उनले अत्तरियाको वौद्ध गुम्बा धार्मिक सँगै पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षण र विकासमा जोड दिनुपर्ने बताइन् । आफूले शिलान्यास गरेको बौद्ध गुम्बा भवन अधुरो रहेकोमा दुःख लागेको बताउँदै उनले त्यसको निर्माणका लागि आफूले पहल गर्ने बताइन् । ‘अहिले म पदमा नभएपनि यो भवन बनाउनको लागि म पहल गर्ने छु’ उनले भनिन् ‘मैले यही गुम्बाको परिसरमा बसेर राजनीति सुरु गरेकाले मैले पदमा हुँदा १५ लाख बजेट विनियोजन गरेको थिए । त्यो बजेटले गुम्बा पुरै निर्माण नभएकाले अब थप बजेटका लागि पहल गर्नेछु ।’

अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष गोपाल तामाङले नियमित पुजा अन्तरगत विश्वशान्ति महायज्ञपुजाको आयोजना गरिएको बताए ।

उनले पछिल्लो समय बुद्ध धर्म ओझेलमा पर्न थालेकाले यस्ता कार्यक्रम आवश्यक रहेको बताए । ‘बुद्ध नेपालमा जन्मेका हुन भनेर हामीले धेरै प्रचार गर्छै तर, बत्ती मूनिको अध्यारो जस्तै अहिले वुद्ध धर्म भएको छ’ उनले भने ‘यस धर्मको संरक्षण र वुद्धको प्रचारप्रचारका लागि सबै तहबाट सहयोग आवश्यक छ ।’
फूलबारी बौद्ध गुम्बाका सहायक लामा आशिष लामाले बुद्ध जन्मेकै ठाउँमा बुद्ध धर्म ओझेलमा पर्नु दुःखद भएको बताए । उनले यसको संरक्षण आवश्यक रहेको बताए ।
महायज्ञपुजाको शुभारम्भ कार्यक्रममा गोदावरी बौद्ध गुम्बाका प्रमुख लामा गणेश मुक्तान, जुगेडा बौद्ध गुम्बाका प्रमुख लामा घ्याम्सो लामा, फूलबारी गुम्बाका सहायक लामा खुम बहादुर लामा, कञ्चनपुर मञ्जुश्री गुम्बाका सहायक लामा जित बहादुर लामा लगायतको सहभागिता रहेको थियो । विश्वशान्ति महायज्ञपुजा फागुन १४ गते सम्म सञ्चालन हुने जनाइएको छ ।
तीन वर्षदेखि गुम्बा अधुरो
अत्तरियाको बौद्ध गुम्बा यस क्षेत्रकै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको भएपनि यसको मुख्य गुम्बा भवन भने ३ वर्षदेखि अधुरो रहेको छ । सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत निर्माण सुरु गरिएको भवनका लागि बजेट अभाव भएपछि काम सम्पन्न हुन नसकेको हो । मन्त्रालय मार्फत १५ लाख बजेट विनियोजन गरिएपछि २०७७ माघ ११ गते देखि भवन निर्माणको काम सुरु गरिएको थियो । सो रकमबाट गुम्बाको ढलान गरिएको भएपनि बाँकी काम अधुरै रहेको छ ।
गुम्बाका लामा गणेश मोक्तानले प्रदेश सरकारको बजेटबाट गुम्बाको ढलान गर्ने काम सम्पन्न भएपनि बाँकी कामका लागि बजेट अभाव हुँदा गुम्बा अलपत्र परेको बताए । उनले गुम्बाको चारैतिर वाल निर्माण गरेर गुम्बा तयार गर्न अझै २० लाख बजेट आवश्यक पर्ने बताए । हाल अधुरो गुम्बा निर्माण पुरा नहुँदै जीर्ण बन्ने जोखिम बढेको छ ।
गुम्बाको तत्कालीन सुदूरपश्चिम प्रदेशसभा सदस्य चुन कुमारी चौधरीले नै शिलान्यास गरेकी थिइन् । गुम्बा ४५ फिट लम्बाइ र २८ फिट चौडाइ हुने जनाइएको छ । हाल गुम्बाको मुख्य भवन निर्माण नहुँदा धार्मीक कार्यक्रम सानो टहराबाट हुँदै आएको छ ।
भिडियो