अत्तरिया- अत्तरियाको महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणमा प्रहरीले अनुसन्धानको अन्तिम चरणमा रहेको बताएको छ ।

अत्तरियामा गत पुष २६ गतेदेखि माघ ७ गतेसम्म सञ्चालित आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएका थिए । अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको थियो । त्यसपछि यस प्रकरणमा अनुसन्धान गरिरहेको कैलाली प्रहरीले अनुसन्धान अन्तिम चरणमा रहेको बताएको हो ।

‘यो मुद्दा अनुसन्धानको अन्तिम-अन्तिम चरणमा छ, यसबारे विस्तृतमा जानकारी आउला अब, अन्य केही थप अपडेट छैन’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले भने । यो प्रकरणमा नाम जोडिएपछि अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्वअध्यक्ष अशोकराज देवकोटा भने सम्पर्कविहीन छन् ।
