कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा निर्माण भएको पुस्तकालय सहितको यात्रु प्रतिक्षालयमा एमालेको रजगज रहेको पाइएको छ । घोडाघोडी नगरपालिकाको ५ लाख ६१ हजार र चन्दादाताको सहयोग गरी २० लाख बढीको लागतमा उक्त संरचना निर्माण गरिएको हो ।

भवनको भुँईतलामा यात्रु प्रतिक्षालय रहने र दोस्रो तलामा सुविधा सम्पन्न पुस्तकालयको अवधारणासहित भवन निर्माण गरिएको थियो । निर्माणको सुरुवाती चरणमै प्रतिक्षालयको नाम र जमिनको विषयमा समेत विवाद भएको थियो । तर, प्रतिक्षालय शिलान्यासदेखि उद्धघाटनसम्म मात्र नभई नामदेखि कामसम्म प्रतिक्षालयमा एमालेकै रजगज रहेको पाइएको हो ।


प्रतिक्षालयको दोस्रो तलामा निर्माण गर्ने भनिएको सुविधा सम्पन्न पुस्तकालयमा एमाले घोडाघोडी नगर कमिटीको सचिवालय रहेको पाइएको छ । आइतवार पुस्तकालयमा एमालेका नेता कार्यकर्ता छलफल तथा कामकाज गरिरहेका पाइएका थिए । प्रतिक्षालय निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले प्रतिक्षालय निर्माणपश्चात् नै एमालेका घोडाघोडी नगर कमिटी अध्यक्ष बक्तबहादुर शाहीलाई आफूले तालाचाबी बुझाएको बताए ।

एक स्थानीयका अनुसार पुस्तकालय बनाउने भनिएको भवनको दोस्रो तलामा एमाले पार्टीले नगर कमिटीको सचिवालय बनाएको र नियमितजसो हुने बैठक तथा छलफल त्यसैमा चलाउने गरेको बताए । एमाले घोडाघोडी नगर कमिटी अध्यक्ष शाहीले भने केही समयका लागि मात्र प्रयोग गरेको बताए । “जिल्ला अधिवेशन सकुन्जेल सम्मका लागि मात्र प्रयोग गरेका हौँ, अबको एक सातपछि छोड्ने कुरा भएको छ”, उनले भने ।
सुविधा सम्पन्न पुस्तकालय सहितको प्रतिक्षालय निर्माण गर्ने भनिएको ठाउँमा कुनै एक अमुक पार्टीले कार्यालय बनाउनु गम्भीर कुरा भएको नेकपा माओवादी केन्द्रका घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्रबहादुर हमालको भनाइ छ । ‘निर्माणको सुरुवाती चरणमा प्रतिक्षालयको नाम मदन आश्रित स्मृति प्रतिक्षालय राख्ने विषयमा समेत विवाद हुँदा मदनलाई राष्ट्रको एक गहनाको रुपले सम्मान गरेका थियौँ । त्यसै अनुरुप सहमती समेत जुटेको थियो, तर आज यसरी नाम एक काम अनेक भइरहेका छन् । यसरी सार्वजनिक सम्पतिको दुरुपयोग गर्न कसैले पनि पाउदैन र मिल्दैन पनि । हिजो मात्र पनि एक जना चन्दादाताले सहयोग गरेको भरमा फेरि अर्को शिलापत्र टाँगिएको रहेछ’, उनले भने ।
नामदेखि काम र प्रयोगसम्म पूरै एमालेको भएपछि हाल आएर सर्वत्र यो विषयको आलोचना भइरहेको छ ।