एसीसी वुमन्स प्रिमियर कप : नेपालको कीर्तिमानी जित

काठमाडौँ- नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ । नेपालले माल्दिभ्सलाई २१४ रनको कीर्तिमानी अन्तरले हराएको हो ।

maya metro hospital

नेपालले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भएको हो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जना शून्य रनमा आउट भए । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुविना क्षेत्रीले ३–३ विकेट लिए ।

joshi vada pasal 2

यसअघि नेपालले रुविना क्षेत्रीले शतक बनाएपछि निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा कीर्तिमानी २ सय २७ रन बनाएको थियो । नेपालले अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाइन् । केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेले । रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरे । महिला टी-२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि हो ।

चौथो नम्बरमा क्रिज समाल्न आएकी रुविनाले अविजित एक सय १८ रन बनाइन् । उनी टी-२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।

रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.