पोखरा- पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पर्वतको कुश्माका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री पक्राउ परेका हुन् ।

उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राखेको र तिनै गतिविधि हेरेर मुख्य आरोपी लक्ष्मण दर्जीले योजना बनाएका थिए । उनले गैरेलाई माघ १८ गते हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाउँदै पाँच करोड रुपैयाँ मागेका थिए ।

हिजो फिरौती माग्नेहरू दीप सच्चाई सेवा केन्द्रमै गएका बेला पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई लागुऔषध, हातहतियार तथा खरखजाना र आपराधिक लाभ गरी तीन वटा मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले बताए । उनीहरूको साथबाट विभिन्न हतियार पनि बरामद भएको छ ।