गोदावरीका नदीहरूमा अत्याधिक दोहन, जिससका भुषाल भन्छन् ‘कारवाही हुन्छ’


अत्तरिया – कैलालीको गोदावरी क्षेत्रका नदीमा अत्याधिक दोहन भएको पाइएको छ । आइतबार जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले गरेको अनुगमनका क्रममा गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरिरहेका खुटिया, खैराना र गोदावरी नदीमा अत्याधिक दोहन भएको पाएको हो । समितिले मापदण्ड विपरित नदी दोहन भएको भन्दै तत्काल नदीमा प्रयोग भएका जेसीवी, स्काभेटर, टिप्पर र ट्याक्टर समेत नियन्त्रणमा लिएको छ ।

maya metro hospital

जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति (जिसस) का कार्यवाहक प्रमुख खगराज भुषालले तिन वटै नदीमा अत्याधिक दोहन भएको बताए । ‘नदीहरुमा अत्याधिक दोहन भएको छ । मापदण्ड विपरीत उत्खनन भएको छ’ उनले भने ‘अब कारवाही हुन्छ । कारवाही नहुँदा सम्म काम अगाडि बढ्दैन ।’ उनले खुटिया नदीको सेहरी क्षेत्रमा मापदण्ड भन्दा बढी गहिरो खनेर नदीजन्य पदार्थ निकालिएको बताए । 

उनले गोदावरी नदीमा झन ठूलो दोहन भएको बताए । ‘नदीमै ढुङ्गा थुपारिएको छ । मापदण्ड भन्दा गहिरो खनिएको छ । त्यही चाल्ने काम पनि गरिएको छ’ उनले भने ‘नदीमै नदीजन्य पदार्थ चाल्न पाइदैन । मापदण्ड भन्दा गहिरो पनि खन्न पनि पाइदैन ।’ 

attariya hospital

इप्रका मालाखेतीका डीएसपी गणेश बरालले जिल्ला अनुगमन तथा व्यवस्थापन समितिको निर्देशनमा १९ वटा सवारी साधन नियन्त्रणमा लिएको बताए । उनले मापदण्ड विपरित नदीमा प्रयोग भएका १० टिप्पर, ३/३ वटा जेसीबी, स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिएको बताए । उनले नियन्त्रणमा लिएका सवारी साधनलाई जिल्ला अनुगमन तथा व्यवस्थापन समितिको निर्णयअनुसार कारवाही हुने बताए । 

आइतबार गरिएको अनुगमनमा जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक भुषाल सहित प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, डिभिजन वन प्रमुख लगायतको सहभागिता रहेको थियो । 

सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि अनुसार नदीजन्य पदार्थ संकलन वा उद्योग स्थापना र सञ्चालन कार्यको प्रस्ताव कार्यान्वयन हुनुपूर्व, कार्यान्वयन गर्दा र कार्य सम्पन्न भैसकेपछि वातावरणमा पर्ने प्रभावको अध्ययन, विश्लेषण गरी सुझाव दिनको लागि ९ सदस्यीय जिल्ला अनुगमन तथा व्यवस्थापन समिति रहने प्रावधान छ । 

उक्त समितिले कारवाहीको लागि सुदूरपश्चिम सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा सिफारिस गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ । 

गोदावरीमा ३ वटा नदीमा हाल नगरपालिकाले नै आफै कर्मचारी परिचालन गरी नदीजन्य पदार्थ संकलन गर्दै आएको छ । नगरपालिकाले ३ पटक सम्म ठेक्कामा दिनका लागि बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि असोज महिनादेखि नै नदीजन्य पदार्थ उत्खनन गर्न थालेको हो । जसका लागि नगरपालिकाले नै मासिक शुल्क निर्धारण गरेर नदीहरुमा उत्खननका लागि जेसिवी, स्काभेटर लगाएको छ भने कर्मचारी परिचालन गरेर ट्याक्टर, टिप्परबाट रोयल्टी संकलन गर्दै आएको छ । 

नदीहरुमा नगरपालिकाले मापदण्ड विपरित उत्खनन् गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालले पनि विरोध जनाउँदै आएको थियो । सोही विरोधका बीच आइतबार जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले अनुगमन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.