बैतडी – शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा शालिकमा माल्यार्पण गरेर शहीद दिवस मनाइँएको छ । शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानको आयोजित कार्यक्रममा शहीद दशरथचन्दको जन्मघर बस्कोटमा पुगेर शालिकमा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, सुरक्षा निकायका प्रमुख, प्रतिष्ठानका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले शहीद दशरथ चन्दको शालिकामा माल्यार्पण गरेका थिए ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि प्राणको आहूती दिने जेष्ठ चार शहीद मध्येका दशरथ चन्दको जन्मघरलाई अहिले पाहुना घरको रुपमा विकास गरिएको छ ।
दशरथ चन्दको जन्म विस १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो । तत्कालीन राणा सरकारले विस १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।















