अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले चौकीडाँडा फल्टुडे सडक को स्तरोन्नतीका लागि बजेट थप्नुपर्ने अवस्था रहेको बताएका छन । शनिबार नगरपालिकाको वडा नं. ११ ओलानीमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति सुप प्रदेशस्तरिय कराँते प्रतियोगिताको उदघाटन सत्रमा बोल्दै उनले प्रदेश सरकारलाई बजेटको जोहो गरिदिन आग्रह गरे ।
उनले केन्द्र र प्रदेशले विनियोजन गरेको बजेटले उक्त सडकको स्तरोन्नती सम्भव नभएकाले अझै त्यसको पुर्णताका लागि बजेट विनियोजन गरिनुपर्ने बताए । ‘यो क्षेत्रको मुलभुत आवश्यकता भनेको चौकिडाँडा फल्टुडे सडकको स्तरोन्नती गर्दै यसलाई पक्कि सडक बनाउनु हो, त्यसका लागि केही बजेट केन्द्रबाट छुट्याउन सफल भएका छौ भने केही बजेट प्रदेशबाट सहयोग गर्नुभएको छ’ उनले भने ‘तथापी त्यो बजेटले पनि यसको काम पुर्ण हुने अवस्था छैन । त्यसैले यो सडकको पुर्णताका लागि अझै बजेट विनियोजन गरिदिन म मन्त्रीज्यूलाई आग्रह गर्दछु ।’

उनले पुर्वमन्त्रीद्धय स्वर्गिय टेक बहादुर चोखाल र दिर्घराज भाटको पालामा बाहेक ओलानी क्षेत्रमा हालसम्म विकास निर्माणका काम हुन नसकेको बताए । उनले केही कामहरु आफु निर्वाचित भैसके पश्चात सुरु गरेको बताए । उनले दुई खोलाको मारमा परेका ओलानीबासीहरुलाई तटबन्धनको पनि उत्तिकै खाँचो रहेको बताए । प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवालाई लक्षित गर्दै उनले ओलानीको विकासका लागि पहलकदमी थाल्न आग्रह गरे ।
उनले ४ वटा जिल्ला जोड्ने नायल तालको संरक्षण, संर्वद्धनका लागि पनि प्रदेशको सहयोग आवश्यक रहेको बताए । उनले चौकिडाँडा फल्टुडे सडकको स्तरोन्नती पश्चात नायल ताललाई पनि पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने बताए । ‘डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर गरी ‘४ वटा जिल्लालाई छुने यही पालिकाको वडा नं. १२ मा नायल ताल छ’ उनले भने ‘त्यहाँसम्म जानका लागि सडक पुर्वाधार नहुँदा समस्या छ । त्यसको संरक्षण गर्न सके त्यसलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।’

उनले ओलानीबासीलाई गोदावरी आर्यघाटसम्म सहज रुपमा जानका लागि पनि सडकको निर्माण कार्य भैरहेको बताए । उनले त्यसका लागि केन्द्र सरकारबाट केही बजेट विनियोजन भएर काम भैरहेको बताए । उनले उक्त बाटो बने ओलानीबासीलाई आर्यघाट पुग्नका लागि अत्तरिया बजार भएर घुमेर जानुपर्ने अवस्था नरहने बताए ।
गोदावरी धामलाई हरिद्धारका रुपमा विकास गरौँ
यसैबिच उनले गोदावरी धामलाई हरिद्धारका रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले गोदावरी नदीको संरक्षण संवद्र्धन गरी गोदावरी क्षेत्रमा रहेको धाम र आर्यघाटलाई व्यवस्थीत बनाउन सके हरिद्धारको स्वरुपमा विकास गर्न सकिने बताए । उनले गोदावरीलाई धार्मिक स्थलका रुपमा विकास गर्न जरुरी रहेको बताए ।
‘गोदावरी आर्यघाटमा ६ वटा पालिकाका मानिसहरुको दाहसंस्कार गरिदै आएको छ’ उनले भने ‘त्यसको व्यवस्थापन गर्न जरुरी छ, त्यसको विकास गर्न जरुरी छ ।’ उनले त्यसका लागि पालिकाको बजेटले सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट विनियोजन गरिदिन आग्रह गरे ।
उनले गोदावरी क्षेत्रलाई हरिद्धारको रुपमा विकास गर्न सके आगामी समयमा लाग्ने महाकुम्भ मेलामा करोडौको संख्यामा भक्तजनहरुलाई निम्त्याउन सकिने बताए । उनले गोदावरी धामको व्यवस्थीत विकासका लागि प्रदेश सरकारले पहलकदमी गर्ने दृढ विस्वास लिएको समेत बताए ।
















