धनगढी – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेश पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेस प्रदेशले सुदूरपश्चिमलाई ८० रनले पराजित गरेको हो । प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो हार हो । जितसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले आठ अंक जोडेको छ । छ खेलमा आठ अंक जोड्दै मधेस प्रदेश तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै, चार खेलमा तीन जित र एक खेलमा हार बेहोर्दै सुदुरपश्चिम ६ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

मधेस प्रदेशले प्रस्तुत गरेको तीन सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै दुई सय ३९ रनमा समेटियो । सुदूरपश्चिमका लागि नरेन भट्टले एक सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतमा एक सय २१ रन बनाए । यसैगरी नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन बनाए ।


मधेसका लागि राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट लिए भने रञ्जित कुमारले दुई तथा कप्तान हरिशंकर शाह र पवन सराफले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय १९ रन बनाएको थियो । मधेसका लागि मायन यादवले एक सय २८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा एक सय १५ रनको योगदान दिए ।
त्यसैगरी, पवन सर्राफले ६३ बलमा चार चौका र चार छक्काको मद्दतमा ७० रन बनाए । अनिल शाहले ७० बलमा ६ चौका र दुई छक्काको मद्दतले ६९ रनको योगदान गरे । रुपेश सिंहले २१, अविशेक तिवारीले १६ तथा हरिशंकर शाहले १४ रन बनाए । सुदूरपश्चिमका लागि शेर मल्लले चार विकेट लिए भने विकास आग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले समान एक÷एक विकेट झारे ।