खाेज्नुहाेस

गोलभेडामा हानिकारक विषादी भेटियो

Image

अत्तरिया – अत्तरियाको कृषि हाटबजारमा भित्रिएको गोलभेडामा हानिकारक विषादीको मात्रा भेटिएको छ । शुक्रबार विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ अत्तरियामा गरिएको परीक्षणमा कञ्चनपुरबाट आयात गरिएको गोलभेडामा हानिकारक विषादी भेटिएको हो । प्रयोगशालामा गरिएको परीक्षणमा गणेश चौधरीले उत्पादन गरेको गोलभेडामा अर्गानोफस्फेट ७४.९३ रोकावट प्रतिशत भेटिएको हो । जुन उपभोगका लागि एकदमै हानिकारक भएको प्रयोगशालाका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए । प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट समुहका कीटनाशक विषादीको परिक्षण गरिदै आएको छ । उक्त गोलभेडामा कार्बोमेटको ८.९५ रोकावट प्रतिशत भेटिएको थियो ।

तरकारी फलफूलमा ३५ प्रतिशत भन्दा कम विषादीको रोकावट प्रतिशत भेटिएमा खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत सम्म विषादीको रोकावट प्रतिशत भेटिएमा केही दिन भण्डारण गरेर पुनः प्ररिक्षण गरी उपभोग गर्न सकिने प्राविधिक भट्टले बताए । ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट प्रतिशत भेटिएको तरकारी फलफुल खान अयोग्य (रेड लेवल) हुने भएकाले नष्ट गरिदै आएको छ । शुक्रबार अर्गानोफस्फेट ७४.९३ रोकावट प्रतिशत भेटिएको ५० किलोग्राम गोलभेडा नष्ट गरिएको छ ।

attariya hospital
navjiwan hospital

विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ अत्तरियामा दैनिक ५ वटा तरकारी तथा फलफूलका नमूनाको विषादी परिक्षण हुँदै आएको छ । जुन नमूना अत्तरियामा रहेको कृषि हाट बजारबाट संकलन गरिदै आएको छ । यसअघि पुष ५ गते साढे ३ क्विन्टल बन्दामा रेड लेवलको विषादी भेटिएपछि नष्ट गरिएको थियो ।

विषादी अवशेष दु्रत विश्लेषण इकाई अत्तरियामा चालु आर्थिक वर्षमा गरिएको विषादी परीक्षणमा सुदूरपश्चिमका किसानले उत्पादन गरेका मात्रै ८ तरकारीका नमूनामा हानिकारक विषादीको मात्रा फेला परिसकेको छ । अत्तरिया हाटबजारमा भित्रिएको तरकारीमा पटक पटक विषादीको मात्रा भेटिँदा यसको गम्भिर असर जनस्वास्थ्यमा पर्ने चिन्ता गरिएपनि यसको निराकरणका लागि खासै ठोस पहल भने भएको देखिदैन ।

विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्रमुख प्रमोद ठगुन्नाले मानव स्वास्थ्यमा गम्भिर असर गर्न कीटनाशक विषादीको अत्तरियामा प्रयोग गरिदै आएको बताए । उनले किसानले कीटनाशक विषादी प्रयोग गरेर केही समय पखिर्नुपर्ने भएपनि सिधै विषादी प्रयोग गरेर बजारमा ल्याँउदा विषादीको मात्रा देखिने गरेको बताए । ‘नेपाल सरकारले १६५ प्रकारका विषादीहरु प्रयोग गर्ने अनुमति दिएको छ । तर, ति विषादी प्रयोग गर्दा कति समय सम्म उपभोग नगर्ने भन्ने मापदण्ड छ’ उनले भने किसानहरूले बारीमा विषादी प्रयोग गरेर सिधै बिक्रीका लागि बजारमा ल्याउँदा प्रयोगशालामा यस्ता विषादीको रोकावट प्रतिशत बढी देखिन्छ ।’ उनले यस्ता तरकारी प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भिर असर पर्ने बताए ।

‘हामीले १० पीपीएम विषादी तरकारीको माध्यमबाट प्रयोग ग¥यौ भने त्यो हाम्रो शरीरको बोसोमा जम्मा हुन्छ । तरकारीबाट १० पीपीएम प्रयोग गरेमा त्यो हाम्रो शरीरमा पुगेर १० गुणा बढेर जान्छ’ उनले भने ‘अर्गानोफस्फोट र कार्बोमेटको एकदमै ठूलो नकारात्मक असर मानव स्वास्थ्य पर्ने भएकाले यसलाई सिरियस्ली रुपमा लिने गरिएको छ ।’ कृषि उपजमा अन्धाधुन्द विषादी प्रयोगको कारण क्यान्सर, शरीरमा हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरू, मिर्गौलासम्बन्धी गम्भीर रोगहरू, छालासम्बन्धी रोग आदि लाग्ने अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।