धनगढी- सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा बुधबार राति १० बजेतिर उनी सवार मन्त्रालयको सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडीमा ढुङ्गा प्रहार भएको हो ।

वसन्ता क्षेत्र लगायतमा अतिक्रमण गरिएको वनको स्थलगत अनुगमनबाट टोली फर्किँदै गर्दा फूलबारी क्षेत्रमा ५/६ जना युवाको समूहले उनी सवार गाडीको पछाडिबाट ढुङ्गा हानेका प्रदेश सचिव पौडेलले बताए ।

ढुंगा प्रहारबाट गाडीको पछाडिको भागमा क्षति पुगेपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गाडीमा ढुङ्गा प्रहार गर्ने ६ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।
