दाताले बनाइदिएको भवनमा उद्घाटनको राजनीति 


अत्तरिया – एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण गरिएको गोदावरी नगरपालिकाको भवन दलहरूको राजनीति गर्ने थलो बनेको छ । दाताको आर्थिक सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले निर्माण गरिदिएको प्रशासकीय भवनमा गोदावरीमा सक्रिय राजनीतिक दलहरूले उद्घाटनको राजनीति गर्ने थलो बनाएका हुन । नगरपालिकाको एक वर्षको आन्तरिक आय भन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको भवन अहिले दलहरूले आफूले बनाएको भन्दै नाम लेखाउने होडबाजी चलेको छ । 

maya metro hospital

भवनमा नाम लेखाउने होडबाजीका बीच २ वर्ष अघि तत्कालीन नेकपा एमालेबाट निर्वाचित मेयर हरि सिह साउदले भवन उद्घाटन गरेका थिए भने अर्को शिलालेख राखेर नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान मेयर बिरेन्द्र भट्टले पुनः उद्घाटन गर्ने तयारी गरेका छन । मेयर भट्टले बिहीबार भवन उद्घाटनका लागि तयारी गरिरहँदा यसअघि भवन उद्घाटन गरेको पक्ष विरोधमा उत्रिएको छ । 

नेकपा एमाले गोदावरी नगर कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै भवन उद्घाटन नगर्न चेतावनी दिएको छ । एमाले नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले बल प्रयोग गरी भवन उद्घाटन गरिए त्यसपछि आउन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी नगर प्रमुखले लिनुपर्ने बताए । 

attariya hospital

भवनको तत्कालीन मेयर साउदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । सम्झौता अनुसारको काम नसकिदै भवन उद्घाटन गरेपछि तत्कालीन समयमा नेपाली कांग्रेस लगायत ६ राजनीतिक दलले चर्को विरोध गरेका थिए । 

तर, तत्कालीन मेयर साउद भने भवन निर्माण भएपछि नै उद्घाटन गरिएको दावी गर्छन । ‘भवनको पूर्ण रुपमा पेन्टिङ, सिसा जडान भइसकेको थियो । भवनको कम्पाउण्डको काम मात्रै बाँकी थियो’ उनले भने ‘मैले सबै सँग सल्लाह गरेर हुन्छ भनेपछि उद्घाटन गरेको हुँ ।’ क्षेत्रिय सहरी विकास कार्यालयले पनि उद्घाटन गर्न अनुमति दिएको तत्कालीन मेयर साउदको दावी छ । यद्यपि अन्तिम समयमा आएर क्षेत्रिय सहरी विकास कार्यालयले भवन उद्घाटन नगर्न पत्र पठाएको तत्कालीन मेयर साउद स्वीकार्छन् । ६ राजनीतिक दलको चर्को दबावका बीच चुनावको मुखमा भवन उद्घाटन गरिएको भएपनि चुनाव पछि सत्ता पल्टिंदा हाल पुरानै नियति दोहरीएको छ । 

हालका मेयर भट्टले तत्कालीन समयमा भवन उद्घाटनको विरोध गरेका ६ राजनीतिक दललाई साथमा लिएर पुनः उद्घाटनको तयारी गरेका छन । भवन दाताबाट हस्तान्तरण नभइ उद्घाटन गरिएकाले सो उद्घाटन वैध नभएको हालका मेयर भट्टको तर्क छ । उनले भवन निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएकाले माघ ४ गते उद्घाटन गर्ने जनाएका छन । 

उद्घाटन कार्यक्रममा हाल एमालेबाट निर्वाचित जनप्रतिनिधिले पनि साथ नदिने जनाएका छन । एमालेबाट उपमेयरमा निर्वाचित शारदा रोकायाले भवन उद्घाटनमा एमालेका जनप्रतिनिधिको सहभागिता नरहने बताइन् । उनले दोस्रो पटक भवन उद्घाटन गर्न लागिएकाले आफूहरूले त्यसको विरोध गरेको बताइन् । उनले आफूले छलफल गरेर समस्या सामधान गरौँ भन्दा पनि मेयरले कुरा नसुनेको बताइन् । 

१३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँमा निर्माण गरिएको भवन २०८० असोज २६ गते निर्माण सम्पन्न गरिएको आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ । भवन निर्माण सम्पन्न भएको ४ महिना पनि आयोजना कार्यान्वयन इकाईले माघ २ गते गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हाल भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भएपनि भवनको मर्मत अवधि भने बाँकी रहेको छ । 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.