डोटी- डोटीमा रन पुतला पर्व मनाइँदै छ । यो पर्वलाई नारीहरुको पर्वका रुपमा चिनिन्छ ।
महिला तथा किशोरीहरुले छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समातेर सामूहिक रूपमा रन पुतला खेल्दछन् । पुतला पर्व कतै पुसको १५ देखि माघ १ तथा ३ गतेसम्म मनाइन्छ भने कुनै ठाउँमा चैत २० देखि वैशाख १ गतेसम्म मनाइने चलन छ ।
यो पर्वमा पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीले भोगेका पीडा समेटेर बनाइएका गीत गाइने गरिन्छ । अछाम, बाजुरा र डोटीको सङ्गममा परापूर्व कालमा घ्याराघ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा परेका बेला रन पुतला नाचको सुरुवात गरेको भन्ने किंवदन्ति छ ।