महाकाली सिँचाइका टर्सरी नहरको बिजोग

सन्तोष पन्त, कञ्चनपुर – कञ्चनपुरमा महाकाली सिँचाइका टर्सरी नहरको बिजोग छ । अढाइ दशक अघि निर्माण भएका टर्सरी नहर कतै अतिक्रमणमा परेका छन भने कतै तस्करको सामान ओसारपसार गर्ने रुट बनेका छन । लामो समय देखि टर्सरी नहर मर्मत नहुँदा धेरै जीर्ण समेत बनिसकेका छन । महाकाली सिँचाइ अन्तर्गतका मूल नहर, शाखा नहर, टर्सरी नहर र कुलो निर्माण गरिएका छन । मूल नहर र शाखा नहरमा पानी बगेपनि आधिकांश टर्सरी नहर प्रयोग विहीन छन ।

maya metro hospital

नर्सरी नहरको बिजोग हुँदा अहिले पनि किसानहरू मूल नहरबाटै फुटाएर वा मूल नहरबाट पाइप जोडेर सिँचाइ गरिरहेका छन । बेलौरी नगरपालिका – ८ कलकत्ताका किसान करम शाहे रानाको खेतसम्म टर्सरी नहर पुगेको भएपनि उनले त्यो टर्सरीबाट खेतमा सिँचाइ गर्न पाइरहेका छैनन् । टर्सरी नहर हुँदा समेत उनले नहर काटेर खेतमा सिँचाइ गर्नुपर्ने बाध्यता छ । ‘नहर सँगै टर्सरी बन्यो । बनेको टर्सरीबाट पानी लगाउन पाएका छैनौ’ रानाले भने ‘अहिले नहर काटेर पाइप तानेर खेतमा पानी लगाउँछु । नहरमा पानी नभए बोरिङबाट सिँचाइ गर्नुपर्छ ।’

उनले कतै टर्सरी नहरको काम अधुरै भएको र, बनेको टर्सरी नहर पनि सरसफाइ नहुँदा उक्त टर्सरी नहरबाट सिँचाइ गर्ने किसानहरूले सास्ती खेप्नु परेको बताए । त्यस्तै बेलौरी नगरपालिका – ८ कानपुरमा सिँचाइ अन्तर्गत पर्ने कानपुर जेडजेडआर माइनरको काम नहुदाँ करिब १ हजार बिघा बराबरका किसानहरूलाई समस्या भएको स्थानीय छटक चौधरीले बताए ।

attariya hospital

‘पचुइ मुल नहरमा आउने पानीलाई कानपुरका स्थानीयलाई सिँचाइको व्यवस्था गर्ने योजना कानपुर जेडजेडआर माइनर बनेको छैन’ उनले भने ‘त्यो योजना काम अघि बढेकै छैन । जसका कारण त्यहाँका करिब १ हजार बिघा भन्दा बढी खेतीयोग्य जमिनमा नहरको पानी पुगेको छैन ।’

पटक पटक सिँचाइ कार्यालयमा उक्त योजना बनाउन डेलिगेसन दिदा समेत सिँचाइ कार्यालयले वेवास्ता गरेको चौधरीले बताए । चौधरीका अनुसार नहरको पानी खेतसम्म नपुग्दा बोरिङबाट सिँचाइ गर्नुपरेको छ । बेलौरी नगरपालिका – १० का ७० वर्षिय दिलराज पन्तले सीमावर्ती भारत सँगै नजिक रहेको खेतसम्म पानी नपुगेको बताए । उनले टर्सरी नहर मात्रै नभएर शिवनगर मूल नहरमा ०७० साल यता पानी नआएको बताए ।

विगतमा आफैले कुलो सफा गरि खेतसम्म सिँचाइ गरेको उनले दशक यता सरोकारवाला निकायले टर्सरी नहर निर्माणका लागि ध्यान नदिदा बोरिङबाटै सिँचाइ गर्दै आएका छन । उनको खेतसम्म जाने टर्सरी नगर २०७६ मा भारतले स्ट्रप नक्सा जारी गर्दा उक्त टर्सरी नहर नै भारतमा परेको देखिएको छ । टर्सरी नहर पारी भारत तर्फ करिब ५ कट्टा जमिनको भने उनीसँग जग्गाधनी पुर्जा रहेको छ । ‘तागत भए सम्म कुलो सफा गरेर खेतमा पानी चारेकै हो । १० साल जति भो सफा नभएर कुलोमा झाडी माटो भरिएको छ’ उनले भने ‘अहिले त्यो कुलो भारतमा पर्यो भन्छ्न् । खै के हो के हो ? टर्सरी नहर पारी ५ कट्ठा जमिन मेरो पुर्जावाला छ । कसरी भारतमा पर्यो होला ?’

टर्सरीमा तस्करी

बेलौरी नगरपालिका – १० भुडा स्थित सीमावर्ती क्षेत्रमा टर्सरी नहर व्यवस्थापन नहुदाँ अहिले भारतबाट लुकिछिपी भन्सार छली ल्याएका समान ओसार्ने मुख्य बाटो नै बनेको छ । पछिल्लो समय टर्सरी नहरलाई अवैध रुपमा भारतबाट सामान ल्याउने व्यापारीले बाटो बनाउँदा वरपरका खेत गर्ने किसान समस्यामा परेका छन । टर्सरी नहरमा माटो भरान गरि भारतबाट भन्सारछलीका सरसामान भित्र्याउँदा पनि प्रशासन भने बेखबर छ ।

स्थानीय ओम प्रकाश पन्तले टर्सरी नहर निर्माण भएदेखि मर्मत नहुँदा अहिले तस्करको बाटो बनेको बताए । उनले भने ‘टर्सरी नहर मर्मत भएका छैनन् । मर्मत गर्नुको साटो बाटो बनाइ भन्सार छलीका समान ओसार्ने बाटो बनेका छन ।’ यता महाकाली सिँचाइ जल उपभोक्ता केन्द्र समितिलाई टर्सरी नहरलाई बाटो बनाइ तस्करी भइरहेको अत्तोपत्तो छैन । महाकाली सिँचाइ जल उपभोक्ता केन्द्र समितिका अध्यक्ष भीम बहादुर थापाले टर्सरी नहर तस्करीको बाटो नभइ किसानका खेतसम्म सिँचाइ गर्न बनाइएको बताए ।

महाकाली सिँचाइ जल उपभोक्ता केन्द्र समिति अन्तर्गत ४७५ टर्सरी नहर रहेका छन । बनिसकेको टर्सरी नहरहरुको सीमाङ्कन नहुदाँ टर्सरीलाई अतिक्रमण गरि प्रयोग भइरहेको छ । ‘प्रथम चरणमा २०१ र द्धितिय चरणमा २७४ गरि ४७५ टर्सरी नहर रहेका छन’ अध्यक्ष थापाले भने ‘यी २०५५ तिर बनिसकेका हुन । त्यसपछि सीमाङ्कन हुन सकेको छैन । सीमाङ्कन नहुदाँ धेरै अतिक्रमणमा परेका छन । सीमाङ्कनका लागि पहल भइरहेको छ ।’

उनले तत्कालीन समयमा अधुरा रहेका टर्सरी नहर निर्माणका लागि स्टमेट बनाएर पठाइएको बताए । बृहत सरकारी सिँचाइ कार्यक्रम अन्तर्गत टर्सरी नहर व्यवस्थापनको काम हुने उनले बताए । ‘टर्सरी नहर किसानका खेतसम्म सिँचाइ सहज होस भनी निर्माण गरिएको हो’ अध्यक्ष थापाले भने ‘कसैले व्यक्तिगत प्रयोजनको लागि बाटो बनाउन मिल्दैन । यसको लागि कुरा गर्छु । कार्यक्रम पर्यो भने टर्सरी नहर व्यवस्थापन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.