अत्तरिया- कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का बिहीबार बिहान मृत भेटिए । उनी भीमदत्त-६ को ऐठपुरमा महाकाली सिँचाइ नहर किनारको सडकमा मृत भेटिएका हुन् ।

मोटरसाइकलसहित उनी सडकमा मृत पाइएका थिए । वडाध्यक्ष खड्का भीमदत्तका नगर प्रवक्ता पनि हुन् । मृतक वडाध्यक्ष खड्काले आज (२६ गते) उक्त वडास्थित महाकाली सिँचाइ नहरको सडक किनारमा भइरहेको फोहर सफाइका लागि भेला हुन भन्दै २४ गते सूचना निकालेका थिए ।

उनले फोहर व्यवस्थापनको दिगो समाधानका लागि छलफल गर्नुपर्ने भएकाले स्थानीयलाई आज दिउँसो २ बजे भेला हुन सूचनामार्फत आग्रह गरेका थिए । तर, आज नै बिहान उनी मृत भेटिए ।

वडाध्यक्ष खड्काको मृत्यु मोटरसाइकल दुर्घटनामा भएको देखिए पनि उनको दुर्घटना र मृत्यु स्वभाविक नभएको भन्दै परिवारले सत्यतथ्य छानबिन गरिनुपर्ने माग गरेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रारम्भिक अनुसन्धानले दुर्घटना नै देखाएको बताउँदै पोष्टमार्टमपछि थप अन्य कारण खुल्ने बताए । उनले यस विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।