अत्तरिया – कैलालीको चुरे गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ । सोमबारबाट पालिकाको गाउँ सभाको चौथो अधिवेशनको रुपमा हिउँदे अधिवेशन सुरु भएको हो । गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीको अध्यक्षतामा अधिवेशन सुरु भएको थियो । अधिवेशनमा ४ वटा प्रस्तावहरु पेश गरिएका थिए ।

गाउँ सभा सचिव लक्ष्मी दत्त भट्टले सभामा उपस्थित सदस्यहरुका लागि धन्यवाद प्रस्ताव पेश गरेका थिए भने गाउँसभा सदस्य केशव बहादुर साउँदले बजेट संसोधन/रकमान्तर प्रस्ताव र अर्का सदस्य विर बहादुर धामीले कार्यपालिकाका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पेश गरेका थिए । अधिवेशनमा मुख्य गरी शिक्षा ऐन संसोधन गर्ने प्रस्ताव पनि पेश भएको थियो । उक्त प्रस्ताव गाउँ सभा सदस्य प्रेम बहादुर साउँदले पेश गरेका थिए ।

शिक्षा ऐन संसोधन गरेर पालिकामा शिक्षा क्षेत्रलाई केही सहज बनाउने योजना रहेको पालिका अध्यक्ष बोगटीले बताए । उनले योग्यता क्षमताको आधारमा प्रधानाध्यापक नियुक्त गर्नुपर्ने, दरबन्दी मिलान गर्नुपर्ने, शिक्षकहरुलाई सरुवा गर्नुपर्ने लगायतका प्रावधानहरु विगतमा नभएकाले अहिले शिक्षा ऐन संसोधन गर्नुपरेको बताए । शिक्षा ऐनको संसोधनका लागि ७२ घण्टा समय तोकिएको उनले बताए । उनले अधिवेशनमा पेश भएका प्रस्तावहरुमाथी छलफल गर्ने कार्य भैरहेको र अधिवेशनको समापन केही दिन पछि हुने बताए ।

पेश भएका प्रस्ताव उपर छलफल गर्ने र विषयगत शाखाहरुका विवरणहरु लिने कार्यका लागि तत्काल अधिवेशन उद्घाटन पश्चात स्थगित गरिएको उनको भनाई छ । आगामी माघ ८ गते फेरी अधिवेशन सञ्चालन हुने उनले बताएका छन ।