धनगढी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेश स्तरीय छनाैटकाे फाइनलमा बैतडी र कैलाली भिड्ने भएका छन् । आइतबार समूह चरणका खेल सम्पन्न भएसँगै फाइनल टाेलीकाे टुंगो लागेकाे हाे । समान तीन खेल जितेकाे बैतडी अंकतालिकाकाे शीर्ष र कैलाली दाेस्राे स्थानमा रहँदै फाइनल पुगेका छन् ।
आइतबार सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउँदै कैलाली फाइनलमा पुग्याे । यसअघि समान तीन खेल जितेकाे कञ्चनपुर भने नेट रनरेटमा पछि रहँदै फाइनल पुग्नबाट बाहिरिएकाे हाे ।


जितका लागि पाएकाे २०१ रनकाे लक्ष्य पछ्याएकाे बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा १९० रन मात्रै बनाउन सक्याे । जसमा ओपनर खडक बाेहराले शतकीय पारी खेले। उनले ७९ बलकाे सामना गर्दै १२ चाैका र २ छक्काकाे मद्दतमा ११० रन जाेडे। जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलाे खेलाडी समेत बने। कैलालीका लागि शेर मल्लले ४ र कप्तान नारायण जाेशीले २ विकेट हात पारे।
यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरकाे खेल बाक्लाे हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३० ओभरमा झारिएकाे थियाे ।
टस जितेर पहिला ब्याटिङ गरेकाे कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा २०० रन बनायो ।उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनकाे याेगदान गरे। बैतडीका खडक बाेहराले ३ विकेट झारे। खडक खेलका म्यान अफ द म्याच समेत चुनिए। बैतडी र कैलालीबीचको फाइनल खेल मंगलबार हुनेछ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा पुस १४ गतेदेखि छनाैट प्रतियोगिता सुरू भएको थियोे । छनाैट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ ।