धनगढी- कैलालीमा पाँच किलो लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका-५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटेलबाट ५० वर्षीय होटेल सञ्चालक गोरे जागरीसहित तीन जना पक्राउ परेका हुन् ।

आज बिहान पाँच किलो लागुऔषधसहित होटेल सञ्चालक जागरी, बझाङको बुङ्गल नगरपालिका-१ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी पक्राउ परेका प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा लुकाएर राखेको अवस्थामा लागुऔषध फेला परेको हो ।

प्रहरीले एक थान तराजु, एक किलोको ढक एक थान र आधा किलोको ढक एक थान समेत बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
