कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । भीमदत्तबाट ३ र पुनर्वासबाट ४ गरी ७ जना पक्राउ परेका हुन् ।

भीमदत्त नगरपालिका–१८ पुस्पलाल चोकस्थित साधारण माविबाट १.८६ ग्राम चरेश र अवैध लागुऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त–१४ का २२ वर्षीय पारस चन्दसहित तीन जना पक्राउ परेका हुन् । अस्थायी प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पुनर्वास नगरपालिका–११ भीम बस्तिबाट ८०५ मिलिग्राम लागुऔषध (खैरो हिरोइन) र अवैध लागुऔषध निटकोर–१० (निट्राजिपाम) लेखेको ट्याब्लेट १५ थानसहित पुनर्वास–५ बस्ने २९ वर्षीय कृष्ण बडुसहित चार जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । सातै जनालाई आइतबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।