खाेज्नुहाेस

गरिबी र असमानता चिर्दै गोदावरी सहकारी

Image

अत्तरिया – ‘साहु महाजनले मासिक ५/१० प्रतिशत व्याजमा पैसा दिएर तिर्न नसकेपछि केही वर्षमै जग्गा हडप्ने गरेका थिए’ डेढ दशक अघिको पीडा सम्झिदै टेक विकले भने ‘ओलानीमा साहु महाजनले विपन्न, दलित समुदायको उठिबास लगाउने अवस्था थियो । एकातिर सामाजिक विभेद अर्कोतिर साहुमहाजनको ऋणको भारीले दलित समुदाय थिचोलिएको थियो ।’ उनले पिछडिएको दलित समुदायलाई माथि उकास्न स्थानीय जागरुक युवा मिलेर २०६७ सालमा सुरु गरेको अभियानले सहकारीको रूप लिएको बताए ।

सहकारीका संस्थापक अध्यक्ष समेत रहेका उनले सुरुमा दलित विकास सेवा केन्द्रमा मार्फत आयआर्जन, सीप, शिक्षा, पैरवीलाई मुख्य आधार मानी कार्यक्रम सञ्चालन गरिएको बताए । जसका लागि मासिक १५ रुपैयाँको बचत कोष स्थापना गरि कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ‘कोषको मुख्य उद्देश्य साहुमहाजनको चर्को व्याजबाट मुक्त गराई सीप भएका व्यक्तिलाई सहुलियत व्याजमा ऋण प्रभाव गरि आयआर्जनमा जोड्नु थियो’ उनले भने ‘यो कोषको आकार बढ्दै गएपछि हामीले यसलाई सहकारीमा रूपान्तरण गरेका हौ ।’

attariya hospital

उनले दलित विकास सेवा केन्द्र मार्फत कोष संकलन गरी जम्मा भएको रकमबाटै २०६९ सालमा गोदावरी कृषि विकास सहकारी स्थापना भएको बताए । उनले सहकारीले गरेको आर्थिक क्रियाकलापबाट असमानता र विभेदमा कमी आएको बताए । उनले गोदावरी कृषि सहकारी सहकारी मात्रै नभएर एउटा आन्दोलनको स्वरुप भएको बताए ।

navjiwan hospital

सहकारीका वर्तमान अध्यक्ष कृष्ण विकले हाल सहकारीले पछाडि परेको समुदायको जीवनस्तर उकास्नका लागि सहकारीले काम गरिरहेको बताए । उनले गोदावरीको माटो सुहाउँदो कार्यक्रम सञ्चालन गरेर विपन्न नागरिकको जीवनस्तर उकास्ने काम गरिरहेको बताए । उनले सहकारी मार्फत ८२ किसानले तरकारी खेती गरेको, प्रत्येक सेयर सदस्यको घरमा गोठे मल खाल्डो सुधार अभियान सञ्चालन गरेको, अनुदानमा भैंसी वितरण, ९२ जनालाई बेमौसमी तरकारी खेती तालिम दिएको, बाख्रा पालनका लागि ९ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरेको बताए ।

यस्तै सहकारीले किसानलाई रासायनिक मल, खाद्यान्न तथा तरकारीका मल, वितरण सँगै किराना पसल कर्जा, पोल्ट्री व्यवसाय लगायतका कर्जा प्रदान गरेको अध्यक्ष विकले बताए । उनले सहकारीले आगामी दिनमा तरकारी खेती विस्तार, हाट बजार स्थापना, कृषि सामग्री पसल सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको बताए ।

८२८ जना सेयर सदस्य रहेको सहकारीले शनिबार १२ औं साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका प्रमुख अतिथि रहेका सुदूरपश्चिम सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले गोदावरी कृषि सहकारीले पछाडि परेको समुदायको जीवनस्तर उकास्न काम गरिरहेको बताए । ‘यो सहकारी पीडै पीडामा जन्मेको छ । यस सहकारीले साहुमहाजनबाट मुक्ति दिलाएको छ’ उनले भने ‘पिछडाएको क्षेत्रमा रहेको यस सहकारीको विकासका लागि मन्त्रालयले पनि सहयोग गर्छ ।’ उनले सहकारीले प्राङ्गारिक मल बनाउने कार्य उत्कृष्ट रहेको बताए ।

९० प्रतिशत भन्दा बढी दलित समुदाय र ९५ प्रतिशत भन्दा बढी महिला सहभागि सहकारीको हाल सेयर पूँजी १५ लाख १८ हजार ८ सय पुगेको सहकारीका व्यवस्थापक गणेश विकले बताए । सहकारीको आर्थिक वर्ष २०७९÷८० मा कुल पूँजी १ करोड ३ लाख ९९ हजार २३४ रहेको छ भने सहकारीले ८५ लाख १४ हजार १ सय लगानी गरेको छ । सहकारीले कैलालीको गोदावरी नगरपालिका १०, ११ र १२ मा काम गर्दै आएको छ ।