पोखरा- पोखरा-२९ नौबीसेका ३६ वर्षीय रत्नबहादुर घर्तीले आफ्नी श्रीमतीको तुनाले बाँधेर हत्या गरेको खुलेको छ । म्याग्दीको धौलागिरी-७ ताकम घर भई नौबीसे बस्दै आएका उनले २९ वर्षीया श्रीमती रेखा घर्तीलाई अर्कै केटासँग देखेपछि तुनाले बाँधेर हत्या गरेको खुलेको हो ।
रेखाको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा फेला परेको थियो । श्रीमती र अर्को केटालाई सँगै देखेपछि केटालाई समाउन नसक्दा आवेशमा आएर हुडीको तुनाले बाँधेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए ।
प्रहरीका अनुसार रेखा र रत्नबहादुरका २ बच्चा छन् भने उनी रत्नबहादुरकी कान्छी श्रीमती हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।