खाेज्नुहाेस

घोडाघोडी नगरपालिकाको कार्यालय घेराउ

Image

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालय घेराउ गर्दै तालाबन्दी गरिएको छ । स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन । आफ्ना समस्याका बारेमा बारम्बार जानकारी गराउँदा पनि नगर सरकार गैर जिम्मेवार बनेको भन्दै वडा नम्बर ४ का स्थानीयबासीले कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका थिए ।

navjiwan hospital

उनीहरूले नदीजन्य पदार्थको मनोमानी रकम असुली बन्द गर्नु पर्ने, नदीजन्य पदार्थ बोक्ने ट्र्याक्टर तथा टिप्परहरुले उडाउने धुलो नियन्त्रण गर्नु पर्ने तथा जथाभाबी उत्खनन गर्दा भएको नदी कटान नियन्त्रण गर्नु पर्ने माग अघि सारेका छन् । तीन वटा माग सहित उनीहरूले वडा नम्बर ४ मा विगत ५ दिन देखि सडक अवरुद्ध गरेका थिए ।

attariya hospital

समस्या समाधान तथा वार्ता संवादका लागि नगर प्रमुखलाई अनुरोध गर्दा गैर जिम्मेवार बनेको भन्दै बिहीबार नगरपालिका घेर्न आएको सङ्घर्ष समितिका संयोजक दान सिंह रतोकीले बताए ।

नगर प्रमुख खडक बहादुर रावतले थुनिएको करिब १ घण्टा पछि कार्यालयबाट निस्किएर आन्दोलित स्थानीयलाई सम्बोधन गरेका थिए । रोयल्टीको विषयमा ठेकेदार सँग कुरा भइरहेको उनले बताए । ‘कालोपत्रे र तटबन्धको विषय मैले सम्बोधन गर्ने बित्तिकै हुने कुरा होइन । यसका लागि हामी गम्भीर छौ र प्रक्रियागत रूपमा अघि बढेका छौ । तत्काल धुलो नियन्त्रण गर्न सडक मर्मतको काम चाडै सुरु गर्छौ’, मेयर रावतले भने ।