अत्तरिया- मृत अवस्थामा फेला परेका डोटीका ३० वर्षीय समीर भट्टको शव आफन्तले बुझेका छन् । दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका भट्टको शव एक महिनापछि बिहीबार (आज) आफन्तले बुझेका हुन् ।
पोस्टमार्टम गरिएको समीरको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको थियो । एक महिनापछि आज बिहान मात्रै शव आफन्तले बुझेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गत मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किएर घरतिर गएका समीरको शव १२ गते बिहान गाउँ नजिकै सडकको नालीमा भेटिएको थियो । अन्यत्र हत्या गरेर त्यहाँ फालिएको दाबी गर्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । हत्यारा पत्ता लगाई कारबाही नभएसम्म शव नबुझ्ने उनीहरुको अडान थियो ।
समीरका आफन्तले किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । दिपायल सिलगढी–५ का राम विष्ट, देवराज विष्ट र लक्ष्मण विष्टलाई किटानी जाहेरीपछि प्रहरीले पक्राउ गरेको थियो । उनीहरु तीनै जनालाई आइतबार अदालत पेश गरिएकामा हिजो पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए ।