धनगढी – कैलालीमा ५२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र सच्याउन माग गर्दै निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नाम, उमेर वा जात सच्याउन माग गर्दै उनीहरुले प्रशासनमा निवेदन दिएका हुन् ।
नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले नाम, जात र उमेर संशोधन गर्न चाहेमा नागरिकता लिएको पाँच वर्षभित्र सच्याउन निवेदन दिन सक्ने व्यवस्था रहेको छ । यसैगरी, पाँच वर्षभन्दा अघि नागरिकता लिएका व्यक्तिले संशोधन नियम नेपाल राजपत्रमा प्रकाशित भएको मितिले दुई वर्षभित्र सच्याउन आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
संशोधन नियम लागु भएपछि कानुन बमोजिम कार्तिकमा १२, मङ्सिरमा ३० र पुसको पहिलो हप्तासम्म १० गरी ५२ जनाले नाम, जात वा थर सच्याउन माग गर्दै आवेदन दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।