खाेज्नुहाेस

वन जोगाउलेलाई घाँस दाउराको सकस

Image

अत्तरिया – ‘सामुदायिक वन नेपालको धन’ नारा बोकेर नेपालमा सामुदायिक वनको संरक्षण गर्ने गरिएको छ । तर, सामुदायिक स्तरमा वन जोगाउनेहरुका लागि धन त परको कुरा हेक्टरै क्षेत्रफलको वन जोगाएर घाँस दाउराकै जोहो गर्न सकस हुने गरेको छ । ग्रामीण भेगमा अझै पनि गाईबस्तु पाल्ने देखि लिएर चुलो बाल्नको लागि वनमै निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, वन संरक्षण गर्नु पुर्व सहज चलेको जीविको वन संरक्षण पनि झन कठिन बन्नेको उपभोक्ताहरूको गुनासो छ । मंगलबार कैलालीको गोदावरी नगरपालिका – ३ र १० मा पर्ने धाईया सलानी सामुदायिक वन उपभोक्ता समुहको २० औं साधारण सभामा वनका उपभोक्ताहरूले वनको संरक्षण गरेका स्थानीयले वनबाट लाभ लिन नसकेको गुनासो गरे ।

गोदावरी नगरपालिका – १० की बिस्ना विकले निश्चित समयका लागि खुल्ने वनबाट गाईबस्तु पाल्न निकै समस्या हुने गरेको बताइन् । उनले वनले घाँस दाउरा उपलब्ध गराउने भएपनि त्यसबाट सीमित व्यक्तिले मात्रै लाभ लिइरहेको बताइन् । उनले वनमा पहुँच भएका र तस्करहरूले लाभ लिइरहेको भएपनि विपन्न वर्गलाई भने संरक्षणका नाममा सकस भइरहेको बताइन् । स्थानीय पुस्पालता रावलले सामुदायिक वन स्थानीयको निकै मेहनतपछि संरक्षण भएको बताइन् । उनले पछिल्लो समय वनमा आश्रीतहरुले वनबाट लाभ लिन नसकिरहेको बताउँदै यसमा सुधार गरिनुपर्ने बताइन् ।

attariya hospital

स्थानीय रमेश ताम्राकारले वनबाट स्थानीय संघ संस्थाले लाभ लिन पाउनुपर्ने बताए । वनको विनाश नगरी वनबाट फाइदा लिन आवश्यक रहेको उनको भनाइ छ । ‘आवश्यक परेको बेला रूख काट्न रोक्नु उचित होइन’ उनले भने ‘विदेशमा पनि आवश्यक परेको बेला रूख काट्ने गरिन्छ । तर, रूख काटेको ठाउँमा बिरुवा रोप्नु पर्यो ।’

navjiwan hospital

स्थानीय जंग बहादुर सुनारले हिन्दु धर्ममा जन्मदा देखि मृत्यु हुँदा सम्म वनजन्य काठदाउराको आवश्यकता पर्ने बताए । सामुदायिक वनको संरक्षणका लागि स्थानीयको ठूलो भूमिका हुने भएकाले समान रुपमा सबै उपभोक्ताले वनको उपभोग गर्न पाउनु पर्ने बताए । ‘वनबाट उत्पादन भएका काठ बाहिर बिक्री गर्नु भन्दा स्थानीय स्तरमै खपत गर्न आवश्यक छ’ उनले भने ‘वनबाट उत्पादन हुने काठबाट फर्निचर उद्योग चल्न सक्छ । स्थानीयले रोजगार पाउन सक्छन् । काठ संकलन भएपनि बाहिरका फर्मलाई बिक्री गरेर स्थानीयलाई केही फाइदा छैन ।’

धाईया सलानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भीम बहादुर जैगडीले वन संरक्षणका लागि स्थानीयको भूमिका भएपनि स्थानीयबाटै वन जोगाउन चुनौती रहेको बताए । उनले वन संरक्षणका लागि चौकीदारको तलब दिनमै वनको आम्दानी खर्च हुने अवस्था आएको बताए । उनले उपभोक्ताका लागि घाँस दाउरा खुलाउने गरिएको भएपनि वनमा उपभोक्ता धेरै हुँदा सीमित समयका लागि वन खुलाउनु परेको बताए ।

सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल गोदावरीकी अध्यक्ष यादी रावत वनलाई नियमन गर्न वनको विधान हुने भएकाले सोही विधान अनुसार वनमा क्रियाकलाप सञ्चालन गरिनुपर्ने बताइन् । उनले वनले कार्यक्रम गर्दा विपन्न वर्गलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् ।

धाईया सलानी सामुदायिक वनले चालु आर्थिक वर्षको हालसम्म ८ लाख ४२ हजार ५३० रुपैयाँ आयआर्जन गरेको छ । जसमध्ये १ लाख १५ हजार ५ सय खर्च भएर ८ लाख २७ हजार ३० रुपैयाँ बचत रहेको वनका अध्यक्ष जैगडीले बताए । १७२ हेक्टर क्षेत्रफल रहेको वनमा हाल १ हजार बढी उपभोक्ता रहेका छन ।