कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका४ महेन्द्रनगरस्थित समावेशी बहुउद्देश्यीय सहकारी संस्था तीन महिनादेखि बन्द छ । बचतकर्ताहरुले आफ्नो बचत रकम फिर्ता माग्न थालेपछि सहकारी बन्द अवस्थामा रहेको हो ।
विभिन्न आकर्षक सेवाहरु देखाएर बचत गर्न लगाई अहिले रकम फिर्ता माग्दा नदिइरहेको बचतकर्ताहरुले बताएका छन् । सहकारीले बचत रकम फिर्ता गर्न आलटाल गरेपछि आफूहरु ठगिएको भन्दै बचतकर्ता प्रहरीमा समेत धाएको बताउँछन् ।
१६ असोजसम्म उक्त सहकारीमा बचत गरेकी कमला डाँगाले आफूसहित अन्य बचतकर्तालाई सहकारीले ठगेको बताइन् । ‘मैले असोजमा नै बचत रकम फिर्ता मागेकी थिएँ, तर दिएनन्,’ उनले भनिन्, ‘दोस्रो पटक जाँदा सहकारी कार्यालय नै बन्द भएको रहेछ ।’ उनले आफ्नो ७० हजार रुपैयाँ सहकारीमा बचत रहेको बताइन् । ‘हामीलाई ब्याज होइन साँवा पनि फिर्ता दिनुपर्यो,’ उनले भनिन्, ‘आफ्नै पैसा निकाल्न पनि नपाउने भयौँ, हामी त यसरी ठगियौँ ।’
भीमदत्त-१८ महेन्द्रनगरकी पुष्पादेवी धामीले आफ्नो २ लाख २५ हजार रुपैयाँ बचत रहेकोमा फिर्ता मागेको तीन महिना बितिसक्दा पनि पाउन नसकेको बताइन् । भीमदत्त-४ महेन्द्रनगरमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका पुष्पराज जोशीले पनि साढे १७ हजार रकम बचत रहेको बताए । ‘बचत रकम फिर्ताका लागि पटक पटक सहकारीको कार्यालयमा गएँ, तर दिएनन्, कार्यालय बन्द गरेर कर्मचारी र पदाधिकारी सम्पर्कविहीन भएका छन्,’ उनले भने ।
यता, सहकारीले भने बचतकर्ताको रकम फिर्ता हुने बताएको छ । सहकारीका सचिव अरुण विष्टले बचतकर्ताहरुलाई तीन महिनाको समय मागेको र सबैको फिर्ता हुने बताए । ‘हामी पदाधिकारीले कुनैपनि बचतकर्ता र शेयरधनीको रकम ठग्ने कुरै भएन,’ उनले भने, ‘कतिपयको फिर्ता गरिसकेका छौँ, बाँकीको १५ पुषभित्रै फिर्ता गर्ने तयारीमा छौँ ।’ बजारमा लगाएको ऋण असुली नहुँदा समस्या भएको उनको भनाइ छ ।
बचतकर्ताहरुले रकम फिर्ता नभए सहकारीविरुद्ध कानुनी तथा भौतिक रुपमै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।