कैलाली र कञ्चनपुरमा एक लाख बढीका सामान फेला
धनगढी- कैलाली र कञ्चनपुरमा प्रहरीले एक लाख मूल्य बढीका सामान फेला पारेको छ । प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएका सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ बालुवाघाटमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी २० हजार ३ सय ७० मूल्य बराबरको कपडा, मिठाइ, नरिवल, सुर्ती लगायतका सामान बरामद गरिएको छ ।
धनगढी–९ घुयाघाटबाट अन्दाजी ७ हजार मूल्य बराबरको प्याज र धनगढी–१५ कनरीबाट अन्दाजी ९ हजार ५ सय मूल्य बराबरको ब्रोइलर कुखुरा सोमबार बरामद गरिएको छ । उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भुजेलामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८० हजार ४ सय ४० मूल्य बराबरको कपडा, चिनी, मिस्री, दाल लगायतका सामान सोमबार नै प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।