टीकापुर – गौशालाको स्तरोन्नतिका लागि यहाँ आयोजना गरिएको महायज्ञबाट रु नौ लाख ६७ हजार आम्दानी भएको छ । गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापुर–२ सीतापुरमा आयोजना भएको महायज्ञबाट रु १७ लाख ९६ हजार आम्दानी भएको छ ।

महायज्ञमा रु आठ लाख २९ हजार खर्च भएको छ । खर्च कटाई रु नौ लाख ६७ हजार बचत भएको महायज्ञ आयोजक समितिले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।

महायज्ञ आयोजक समितिका संयोजक द्वारिकाप्रसाद जोशीले महायज्ञमा रु १२ लाख एक हजार दानबाट, रु चार लाख ४५ हजार कलश बिक्रीबाट, रु एक लाख ५१ हजार धानचामल बिक्रीबाट आय भएको जानकारी राससलाई दिए । महायज्ञबाट सङ्कलन भएको रकम गाईको बासस्थानका लागि गोठ निर्माण र आहारा व्यवस्थापनमा खर्च हुनेछ ।


















