धनगढी – कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । कैलालीको कैलारी गाउँपालिका–८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका–१ का मलिना न्यौपानेको विवाह भएको ४ वर्षपछि गाउँपालिकामा उनीहरूको विवाह दर्ता भएको हो ।
समलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको थिएन् । पहिलो पटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मलिनाले शनिवार धनगढीमा खुसी साटिन् ।
‘हाम्रो विवाह भएको चार वर्ष भइसकेको थियो । थुप्रै विभेद र समस्या झेल्दै हामी आज यो दिनमा आइपुगेका छौँ’ उनले भनिन् ‘गाउँपालिकामा हाम्रो विवाह दर्ता भएको छ हामी निकै खुसी छौँ ।’
उनीहरूले समलिङ्गी विवाह पछि अब धर्म सन्ताका विषयमा पनि सहज गरिनु पर्ने बताएका थिए । विवाह दर्ता पनि अब कानुनी रूपमै आफूहरू पति पत्नी भएको भन्दै उनीहरूले पनि अरू लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई खुलेर आउनु पर्ने बताएका थिए ।
निलहिरा समाजकी अध्यक्ष पिंकि गुरुङले समलिङ्गी विवाहमा अवरोध आउँदा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू निकै समस्यामा रहेको बताएकी थिइन् । उनले विभिन्न कारणबाट अहिले सम्म ७१ जनाले आत्महत्या गर्नु परेको तथ्याङ्क सुनाइन् ।
यस अघि नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो । त्यो नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता हो ।
सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो ।