कञ्चनपुर – कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगनको काम सुरु भएको छ । सशस्त्र प्रहरीले दुई जिल्लाका एक सय ६९ वटा बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा रङरोगन गर्न लागेको हो । धनगढी उपमहानगरपालिका– ९ बङ्ग्राकटानस्थित ७४९–१ नम्बरको सीमास्तम्भको आइतबार रङरोगन गर्दै कैलालीमा सीमास्तम्भ मर्मत कार्यको सुरुवात गरिएको हो ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल ३९ बटालियनका सहायक कमान्डर कनैया नेथानीले सीमास्तम्भमा रङरोगन गर्दै मर्मत कार्यको शुभारम्भ गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका अनुसार कैलालीमा बिजोर नम्बरका एक सय तीनवटा सीमास्तम्भको मर्मत तथा रङरोगन गरिनेछ । सरकारबाट प्राप्त जिम्मेवारीअनुरूप सशस्त्र प्रहरीले कार्ययोजना बनाएरै कैलाली र कञ्चनपुरमा रहेका बिजोर नम्बरका सीमास्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले बताए । नापी विभाग तथा भारतीय सीमा सुरक्षा बलको समेत समन्वयमा सशस्त्र प्रहरीले सीमास्तम्भ मर्मत र रङरोगनको काम गर्ने उनको भनाइ छ ।

त्यति नै संख्यामा रहेका जोर नम्बरका सीमास्तम्भको मर्मत भारतीय सीमा सुरक्षा बलले गरेको सशस्त्र प्रहरीले जनाएको छ । विजोर नम्बरका सीमास्तम्भको सशस्त्र प्रहरी र जोर नम्बरका सीमास्तम्भको मर्मतसम्भार भारतीय सीमा सुरक्षा बलले गर्ने दुई देशबीच सहमति छ ।
कैलालीमा भारतसँग जोडिएको एक सय एक किलोमिटर भन्दा लामो खुला सिमाना छ । केही सीमास्तम्भ हराएका र नदीमा बगेका छन । तर, हराएका ठाउँमा नयाँ स्तम्भ राख्ने काम हुन सकेको छैन । गत बर्खामा धनगढीमा मात्र दुईवटा सीमास्तम्भ नदी कटानमा बगेका थिए । हराएका सीमास्तम्भको विवरण नापी विभागबाट प्राप्त नभएको सशस्त्र प्रहरी ३४ नम्बर गणले जनाएको छ ।
कञ्चनपुरमा ६६ वटा सीमास्तम्भको मर्मत र रङरोगन गरिने सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रहरी नायब उपरीक्षक भरत कुँवरले जानकारी दिए । जिल्लाभरि मुख्य र सहायक गरी तीन सय ९० वटा सीमास्तम्भ रहेकोमा सन् २०१४ पछि बनेका ६६ वटा स्तम्भको अहिले मर्मत र रङरोगन गरिने बताए ।