सन्तोष पन्त, कञ्चनपुर- तत्कालीन महेन्द्रनगर नगर विकास समितिले करिब ९ करोड लगानीमा निर्माण गरेको सभागृह सञ्चालन नहुँदा जीर्ण बन्दै गएको छ । ‘सीटी हल’का नामले चर्चित सभागृह अलपत्र छोड्दा करोडौँ लगानीमा निर्माण गरिएको भवन जीर्ण बन्दै गएको हो ।
भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर राजमार्ग छेउमा करिब ५ बिघा क्षेत्रफलमा सिटी हल निर्माण गरिएको छ । वि.सं. २०६५ सालदेखि सिटी हलको निर्माण कार्य सुरु भएको थियो । सिटिहलको सम्पूर्ण निर्माण कार्य सकिन एक दशक समय लागेको थियो ।
निर्माण सकिएको ५ वर्षभन्दा बढी भइसक्दा समेत सञ्चालनमा नआउँदा भवन जीर्ण बन्दै गएको छ । भवनमा चिरा परिससकेको छ, सिसा फुटेको छ, भवनमा बोट विरुवा उम्रिएका छन्, वरपरी पूरै झाडी फैलिएको छ ।
सिटी हलको निर्माण सकिएपछि २०७५ सालमा संघीय आयोजना कार्यालय कैलालीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि ऐन संशोधन भएर नगर विकास समिति विघटन भएपछि नगरपालिका मातहत हालियो । त्यसपछि सञ्चालनको जिम्मेवारी भीमदत्त नगरपालिकाको काँधमा आएको हो ।
सरकारी लगानी ‘बालुवामा पानी खन्याए’ झैँ भएको छ । एक हजारबढी मानिस अटाउन सक्ने क्षमताको सभागृह सञ्चालनमा नआउँदा कुनै ठुलो कार्यक्रम गर्नुपरे होटेल, पार्टी प्यालेस र सार्वजनिक स्थल खोज्नुपर्ने बाध्यता छ ।