अत्तरियामा छठ मनाउने बढ्दै 

अत्तरिया – कैलालीको अत्तरिया वर्षेनी छठ पर्व मनाउनेको संख्या बढ्दै गएको छ । अत्तरियाको गोदावरी नदी किनारामा छठ मनाउनेको संख्या बढ्दै गएको हो । अत्तरिया छठ पुजा समितिका अध्यक्ष विरेन्द्र कुमार चौधरीले अत्तरियामा नदी किनारामा छठ पर्व मनाउन लागेको १४ वर्ष भएको बताए । उनले २ जनाबाट नदी किनारामा छठ पर्व मनाउन थालिएकोमा हाल ५० परिवार भन्दा बढीले गोदावरी नदी किनारामा छठ पर्व मनाइरहेको बताए । उनले अत्तरियामा छठ पर्व मान्नेको संख्या भने १ सय भन्दा वढी परिवार रहेको बताए ।

maya metro hospital

‘पुर्व तिर नदी किनारामा भव्यताका साथ छठ पर्व मनाउने गरिएकोमा अत्तरियामा भने धेरैले घरमै छठ पर्व मनाउने गरेका थिए’ उनले भने ‘हाल हामीले छठ पर्व मनाउनको लागि समिति गठन गरेर व्यवस्थित गर्न थालेपछि यो पर्व मनाउनेको संख्या पनि बढेको छ ।’ उनले समितिको आयोजनामा छठ पर्व मनाइए पनि छठको लागि आवश्यक खर्च भने व्यक्तिगत रुपमा संकलन गरिएको बताए ।
उनले अत्तरिया छठ पर्व मनाउनको लागि राज्यको तर्फबाट कुनै पनि सहयोग नभएको बताए । उनले छठ पर्व मनाउने स्थलमा सबै समुदायका मानिस सहभागि हुने गरेको बताए ।

joshi vada pasal 2

अत्तरिया छठ पुजा समितिका उपाध्यक्ष गोकुल कुमार शर्माले पहिलेको तुलनामा छठको भव्यता बढ्दै गएको  बताए । उनले नदी किनारामा यस वर्ष ११ वटा टेन्ट तयार पारिएको बताए । ‘अत्तरिया बजार क्षेत्रमा छठ पर्व मनाउने सबैलाई नदी किनारामा व्यवस्थित रुपमा मनाउनका लागि हामीले आमन्त्रण गरिरहेका छौ’ उनले भने ‘यसअघि छठ पूजाका लागि धनगढी पुग्ने गरेका थियौ । अहिले यही व्यवस्थित रुपमा मनाइरहेका छौ ।’

चार दिन सम्म मनाइने छठ पर्व अन्तरगत तेस्रो दिन आइतबार अत्तरियामा अस्ताउँदो सूर्यलाई अर्घ  दिई छठ पर्व मनाइएको छ । जसका लागि गोदावरी नदी किनार सजाइएको छ । श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मुला, नरिवल, पान, सुपारी सहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवलाई चढाउँछन् ।

छठ पर्व अन्तरग चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइदै छ । उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा सम्पन्न हुन्छ । व्रतालुहरू छठको पूजा गर्दा मनोकांक्षा पूरा हुने बताउँछन । नरिवल, केरा, ठेकुवा लगायतका फलफूल र मिष्ठान्नद्वारा सूर्य देवको पूजा गरिने बताए । मनोकांक्षा पूरा गर्न र परिवारको कल्याण, रोगको निवारणका लागि सूर्यदेवको पूजा गर्ने गरेको उनीहरूको भनाइ छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ । परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

छठको अवसरमा मानिसहरू दन्डी भएर छठ स्थलसम्म पुगेका थिए । जसअन्तरगत एक जना महिला घरबाटै दन्डी बनेर छठ स्थल पुगेको थिइन् । यसरी छठ स्थलमा पुग्दा सबैभन्दा बढी पुण्य कमाउन सकिने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.