अत्तरिया – सुदूरपश्चिममा तिहारको अवधिमा सवारी दुर्घटना ज्यान गुमाउनेको संख्या बढेको पाइएको छ । दशैंको तुलनामा प्रदेशमा सवारी दुर्घटना ज्यान गुमाउने दोब्बरले बढेका हुन । दशैंको अवधिमा प्रदेशमा ९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएकोमा तिहार अवधिमा भने १७ जनाले ज्यान गुमाएका छन ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार तिहारको अवधिमा २२ वटा सवारी दुर्घटनामा परेर १७ जनाले ज्यान गुमाएका थिए । सो दुर्घटनामा परेर ५४ जना घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल उप्रेतीले बताएका छन ।

प्रदेशमा दशैँका बेला भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । अघिल्लो वर्ष सुदूरपश्चिम प्रदेशभर दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो ।

यस वर्ष गत वर्षको तुलनामा दैशैं तिहारमा सवारी दुर्घटना बढेको पाइएको छ । दशैं तिहारमा बढी भिडभाड हुने भएकाले सवारी दुर्घटनाको जोखिम बढी हुने गर्दछ ।
यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार तिहारको समयमा प्रदेशभर चार हजार एक सय २३ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । ती सवारीसाधनबाट २६ लाख ८१ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।