कञ्चनपुर – सशस्त्र प्रहरी बलले गड्डाचौकीस्थित सीमा क्षेत्रमा महाकाली नदीले बगाएको सीमा स्तम्भको मुचुल्का तयार गरेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अनुगमन गर्दै बाढीले बगाएको सीमा स्तम्भको मुचुल्का उठाएको हो ।

२०७० साल असार २ गते महाकाली नदीमा आएको बाढीले नेपाल–भारत सीमा क्षेत्रको रहेको ८०५ नम्बरको मुख्य पिल्लर बगाएको थियो । उक्त पिल्लरको अहिलेसम्म समेत स्थापना हुन सकेको छैन् ।
लामो समयदेखि सीमा स्तम्भ नराखिएको भन्दै स्थानीय तेज रावत लगायतले प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएको केही दिनपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको अनुगमन गर्दै प्रारम्भिक मुचुल्का तयार पारेको हो ।

लामो समयदेखि मुख्य सीमा स्तम्भ नराखिदा सीमा मिचिने जोखिम निकै बढेको स्थानीयको भनाई छ । सरकारले सोही सीमा नजिकैबाट राष्ट्रिय गौरबको आयोजना बनाउँदैछ ।
महाकाली नदीमा चार लेनको पक्की पुल बन्नुका साथै उक्त क्षेत्रका सुख्खा बन्दरगहा समेत बन्दैछ । तरपनि सरकारले मुख्य सीमा स्तम्भ नै बाढीले बगाएको यतिका वर्षसम्म समेत बनाउन नसकेको रावतको भनाई छ ।