अत्तरिया – कैलालीको अत्तरियाबाट जाजरकोटमा आएको भुकम्प प्रभावितहरुका लागि संकलन गरिएका फेन्सी सामग्रीहरु भुकम्प प्रभावित क्षेत्रमा पठाईएको छ ।

शुक्रबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टमार्फत अत्तरिया बजारबाट संकलन गरिएका फेन्सी सामग्रीहरु भुकम्प प्रभावित क्षेत्रमा पठाईएको हो । सामग्री संकलनका लागि भुपु सैनिक नवराज पाठक लगायतको टोली खटिएको थियो । उक्त टोलीले संकलन गरेको ७ बोरा फेन्सी सामग्री नगरप्रमुख भट्टलाई हस्तान्तरण गरिएको हो ।


नगरपालिकाको सहकार्यमा केही साथीहरु मिलेर बजारबाट फेन्सी सामग्री संकलन गरेको पाठकले बताए । बजारका व्यवसायीहरुले चाडपर्वका समयमा समेत जाजरकोटका भुकम्प प्रभावितहरुका लागि सामग्री सहयोग गरेको भन्दै उनले सबै व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । उनका अनुसार जाजरकोट पठाईएका उक्त बोराहरुमा जुत्ताचप्पल, बच्चाका ट्रयाकसुट, ज्याकेट, ब्लांकेट, धोती सारी लगायतका सामग्रीहरु रहेका छन । उनले अझै बजारबाट सामग्रीहरु संकलन भैरहेको र बझाङका भुकम्प पिडितहरुलाई प्रदान गरिने बताए । उनले नगरको सहयोगमा खाद्यान्न संकलनको पनि तयारी थालिएको बताए ।

हस्तारण गरिएका सामग्रीहरु बुझ्दै नगरप्रमुख भट्टले विषम परिस्थीतीमा पनि मानविय नाताले थालीएको प्रयास सह्रानिय भएको बताए । उनले संवेदनशिल अवस्थामा भुकम्प पिडितहरुका समस्याहरु बुझेर सामग्री संकलन गर्ने अभिभारा लिनु चुनौतीपुर्ण कार्य भएको समेत बताए । उनले प्रदेशका अन्य नगरपालिकाहरुसँग पनि साझेदारी गरेर नेपाल नगरपालिका संघमार्फत जाजरकोटका भुकम्प प्रभावित क्षेत्रमा गएर सामग्री वितरण गरिने बताए ।
उनले गोदावरी नगरपालिकाले पनि भुकम्प प्रभावितहरुका लागि नगद रकम सहयोग गरेको र अन्य पालिकाहरुबाट पनि संकलन भैरहेकाले संघमार्फत नै उक्त आर्थिक सहयोगहरु प्रशासनलाई जिम्मा दिईने बताए । उनले सरकारले लागु गरेको एकद्धार प्रणाली मार्फत नै आर्थिक कारोबारहरु गरिने बताए । उनले फेन्सी सामग्रीहरुको हकमा भने सम्बन्धीत क्षेत्रमा पुगेर त्यहाँका प्रभावित नागरिकहरुलाई वितरण गरिने बताए ।