काठमाडौँ- हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । यस्तै विन्दु रावल उपकप्तान बनेकी छिन् ।

गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार हङकङमा हुने चार देशीय शृङ्खलाका लागि मात्र इन्दुलाई कप्तानी दिइएको हो ।

यसअघि टोलीको कप्तान रहेकी रुविना क्षेत्री र उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छन् । यस्तै, कन्चन श्रेष्ठ, सोमु बिष्ट र सोनी पाख्रिनले पहिलो पटक सिनियर टोलीबाट खेल्दैछन् ।

शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कात्तिक २९ गते तान्जानियासँग खेलेर प्रतियोगिताको शुरुवात गर्नेछ ।