धनगढी- धनगढीमा हत्या आरोपमा समातिएका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१६ बेहडाबाबामा बाँसको लाठीले हानेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको आरोपमा पक्राउ परेका कृष्ण सेट्टीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार प्रहरीको थुनामा रहेका सेट्टीलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याइएको थियो ।

सोही क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण खुलेको छैन ।

प्रवक्ता चन्दका अनुसार सोमवार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए । उनको मृत्यु भएपछि सेट्टीलाई नियन्त्रणमा लिएर कैलाली प्रहरीले अनुसन्धान थालेको थियो ।