अत्तरिया – कैलालीको अत्तरियामा ३ वर्ष अघि निर्माण सुरु गरिएको बौद्ध गुम्बा भवन अझै सम्पन्न हुन सकेको छैन् । सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत निर्माण सुरु गरिएको भवनका लागि बजेट अभाव भएपछि काम सम्पन्न हुन नसकेको हो । मन्त्रालय मार्फत १५ लाख बजेट विनियोजन गरिएपछि २०७७ माघ ११ गते देखि भवन निर्माणको काम सुरु गरिएको थियो । सो रकमबाट गुम्बाको ढलान गरिएको भएपनि बाँकी काम अधुरै रहेको छ ।
गुम्बाका संरक्षक गणेश मोक्तान लामाले प्रदेश सरकारको बजेटबाट गुम्बाको ढलान गर्ने काम सम्पन्न भएपनि बाँकी कामका लागि बजेट अभाव हुँदा भवन अलपत्र परेको बताए । उनले भवनको चारैतिर वाल निर्माण गरेर गुम्बा तयार गर्न अझै २० लाख बजेट आवश्यक पर्ने बताए । हाल अधुरो भवनमा तरकारीका बेर्ना उमारिएका छन भने भवन निर्माण पुरा नहुँदै जीर्ण बन्ने जोखिम बढेको छ ।
गुम्बाको तत्कालीन सुदूरपश्चिम प्रदेशसभा सदस्य चुन कुमारी चौधरीले शिलान्यास गरेकी थिइन् । ४५ फिट लम्बाइ र २८ फिट चौडाइ रहेको गुम्बा निर्माणका लागि प्रदेश सरकारबाट अधुरो बजेट विनियोजन भएपनि अहिले बाँकी काम सम्पन्न गर्नको लागि बजेट खोज्न समितिका पदाधिकार दौडधुप गरिरहेका छन ।
अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष गोपाल तामाङले अधुरो गुम्बा निर्माणका लागि बजेट माग गर्दै कार्यालयहरूमा धाइरहेको बताए । उनले नगरपालिका, प्रदेश सरकार देखि संघीय सरकार सम्म बजेटका लागि माग गरेको भएपनि अझै सुनवाई नभएको बताए ।
‘बजेट आए अनुसारको काम हामीले सम्पन्न गरिसकेका छौ’ उनले भने ‘बाँकी काम सम्पन्न गर्नको लागि हामीले तिनै तहका सरकारलाई पनि आग्रह गरेका थियौ । गुम्बा विकास समितिमा पनि बजेट माग गरेका थियौ । बजेट दिन्छौ भन्छन् । अझै बजेट पाएका छैनौ ।’
हाल गुम्बाको पूजापाठ सानो टहराबाट हुँदै आएको छ । मन्दिरका संरक्षक लामाले सानो टहरामा १० जना पनि नअटाउने भएकाले समस्या हुने गरेको बताए ।
‘पुराको पुजा घर साघुरो भएकाले नयाँ गुम्बा भवन निर्माण भएपछि सार्ने सोच बनाएका थियौ’ गुम्बाका पुजारी समेत रहेका लामाले भने ‘नयाँ भवनमा ५० जना पनि अटाउने भएकाले सहज हुने सोचेका थियौ । तर, लामो समय सम्म बजेट नभएर गुम्बाको काम रोकिएको छ ।’
गुम्बा निर्माण गरी यस क्षेत्रलाई सुदूरपश्चिमकै मेडिटेसन हवका रुपमा विकास गर्ने बताइए पनि भवन नै अलपत्र परेपछि सबै योजना लथालिङ्ग भएका छन । अत्तरियाको लामिताल नजिकै रहेको गुम्बा शान्त र रमणीय क्षेत्रमा भएकाले सो क्षेत्रमा आन्तरिक पर्यटकको पनि ओहोरदोहोर हुने गर्दछ । गुम्बाको संरक्षणमा हाल सो क्षेत्रमा १ हेक्टर जग्गा रहेको छ । सो क्षेत्रमा व्यवस्थित गुम्बा बनाउन सके पर्यटन विकासमा पनि टेवा पुग्ने संरक्षक लामाले बताए । बौद्ध गुम्बामा हाल ४ जना बालक सँगै संरक्षक लामा बस्दै आएका छन ।